कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित
काठमाडौँ । नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् ।
प्रदेशसभा सचिवालय परिसरमा आज (बुधवार) भएको दलको निर्वाचनमा बानियाँले मुख्यमन्त्री समेत रहेका बहादुरसिंह लामा तामाङलाई पराजित गरेका हुन् । बानियाँ र लामा दुवै पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् । बुधबार हेटौंडामा भएको निर्वाचनमा कुल ३७ मत खसेकोमा बानियाँले २२ र उनका प्रतिस्पर्धी बहादुर सिंह लामाले १४ मत प्राप्त गरे । एक मत भने बदर भएको छ ।
बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन् । संसदीय दलको बहुमत संख्या अर्थात् २२ मतसहित बानियाँ दलको नेता चुनिएका हुन् । यसअघि बानियाँकै अगुवाइमा संसदीय दलका तत्कालीन नेता लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । उक्त प्रस्ताव संसदीय दलको बहुमत अर्थात् २२ मतले पारित गरेको थियो ।
रिक्त संसदीय दलको नेता पदका लागि बुधबार निर्वाचन गरिएको हो । संसदीय दलको नेतामा बानियाँ र लामा यही कार्यकालमा दोस्रो पटक आपसमा भिडेका हुन् । २०७९ मा बानियाँलाई नै पराजित गर्दै संसदीय दलको नेतामा लामा निर्वाचित भएका थिए ।
लामाले दलको नेताको हैसियत गुमाएपछि आज बुधवार दलको नेता चयनका लागि निर्वाचन भएको हो । बानियाँको नेतृत्वमा कांग्रेसका २१ जना सांसदले ९ साउनमा दल कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । लामा नेतृत्व सरकारका पाँच जना मन्त्रीले राजीनामा दिएर बानियाँलाई साथ दिएका थिए ।