आज चन्द्रग्रहण लाग्ने, मेष, बृष, कन्या र धनु राशि भएकाहरुलाई शुभ
काठमाडौं । आज चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । ग्रहण राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने र राति ११: ५६ मा चन्द्रग्रहणको मध्य हुने भने राति १: ४१ बजे ग्रहण सकिने समितिले जनाएको छ । ग्रहण चन्द्रलाई पूरै ढाकिने गरेर लाग्नेछ । काठमाडौँबाट करिब साढे तीन घण्टा चन्द्रग्रहण देखिने छ । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ । शास्तीय मान्यता अनुसार ग्रहण लाग्नु ९ घण्टा अगाडी सुतक लाग्ने भएकाले बाल, वृद्ध, आतुर, दीर्घरोगी बाहेक अरुलाई भोजन र शयन निषेध गरेको छ । आजको यस चन्द्र ग्रहण मेष, बृष, कन्या र धनु राशि भएकाहरुलाई शुभ र मिथुन, कर्कट, सिह, तुला, बृश्चिक, मकर, कुम्भ र मिन राशि भएका ब्यक्तिलाई अशुभ हुने मानिएको छ ।
यो चन्द्र ग्रहण यस वर्षको दोस्रो हो तर नेपालबाट देख्न सकिने चन्द्र ग्रहणका रूपमा यस वर्षको यो पहिलो चन्द्र ग्रहण हो । नेपाल सहित युरोपको उत्तरपूर्वि भाग, एसियाका सम्पूर्ण देशहरू, अस्ट्रेलिया, उत्तरी अमेरिका लगायत एटलान्टीक र प्यासिफिक किनारका धेरै देशहरूबाट यो चन्द्र ग्रहण देखिने बताइएको छ । यो एउटा चन्द्रमाको सामान्य बृत चक्र हो जहाँ सूर्य र चन्द्रको बिचमा पृथ्वी पर्न जान्छ । यस समयमा पृथ्वी, चन्द्र र सूर्यबिचको दूरी सबैभन्दा थोरै हुन्छ । यस क्रममा पृथ्वीको छाया चन्द्रमा देखिन्छ, चन्द्र नै प्रकाशको अभावमा र पृथ्वीको छायाले कालो देखिन्छ र यो नै चन्द्र ग्रहण हो ।
ग्रहणको आंशिक छाया भएमा खण्डग्रास र पूर्ण छाया भएमा खग्रास चन्द्र ग्रहण भएको भनिन्छ । सामान्यतया ग्रहणलाई नराम्रो रूपमा व्याख्या गरिएको पाइएता पनि यो प्रकृतिको एउटा सामान्य प्रक्रिया हो तथापि केही हदसम्म मानवको संवेग, व्यवहार र सामाजिक अन्तरक्रिया पद्धतिहरूमा असर पर्न सक्ने सनातन ठहर छ ।
ग्रहणका बेला के गर्नु हुन्छ ? के गर्नु हुँदैन ?
ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ । अन्न खान बाहेक ग्रहण र यसको सूतकका बेला नित्य कर्म भने गर्न हुने र ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् बताउछन् । ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका बेला गर्नु हुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ ।
निद्रायां जायते व्याधि मुत्रे दारिद्रमाप्नुयात् ।
पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकरः ।।
अभ्यञ्जने भवेत्कुष्ठि भोजने स्यादधोगति ।
बन्धने च भवेत् सर्पे वधे च नरकं व्रजेत् ।।
अर्थात् ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।
सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविदहरुले शास्त्रमा उल्लेख भएको बताएका छन् ।
















