टी-२० विश्वकप छनोटको उपाधि जित्न सामोआसँग खेल्दै नेपाल

काठमाण्डौं । ओमानमा जारी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपालले सामोआसँग खेल्दैछ। ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा शुक्रबार अपराह्न सवा ४ बजे नेपाल र सामोआबीचको खेल हुनेछ। दुवै टिमले प्रतियोगिताको आफ्नो अन्तिम खेल खेल्दैछ। नेपाल हालसम्म अपराजित छ। समूह चरणमा जापान र कतारलाई पराजित गर्दै शीर्ष- ६ मा पुगेको नेपालले शीर्ष- ६ मा बलियो प्रतिद्वन्द्वी युएई र ओमानलाई पराजित गरेको थियो। अंक तालिकामा नेपाल ८ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको युएईले सबै खेल खेलिसकेको छ। उसको ६ अंक छ। एक खेल कम खेलेको ओमान पनि ६ अंकसहित तेस्रो स्थानमा छ। उसले आज अन्तिम खेल जापानसँग खेल्नेछ। जापान र ओमानबीच बिहान ११ बजे खेल हुनेछ। नेपालले सामोआलाई पराजित गरेको खण्डमा भने नेपाल च्याम्पियन बन्नेछ। नेपालले हारे जापान र ओमानबिचको खेलपछि च्याम्पियनको टुंगो लाग्नेछ। ओमान पराजित भए नेपालले उपाधि जित्नेछ। सामोआ भने शीर्ष-६ मा जितविहीन रहँदै अंक तालिकाको पुछारमा छ। प्रतियोगिताबाट विश्वकपमा पुग्ने तीन वटै टिमको टुंगो भने लागिसकेको छ।

नेपाल, युएई र ओमानले शीर्ष-३ मा स्थान सुनिश्चित गर्दै चार महिनापछि हुने टी-२० विश्वकपमा स्थान सुरक्षित गरेको हो। सन् २०२६ को टी-२० विश्वकप प्रतियोगिताको आयोजना भारत र श्रीलंका ले संयुक्त रूपमा गर्ने छन्। विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने तय छ। छनोट भएका २० टोलीले सुरूमा समूह चरणमा प्रतिस्पर्धा गर्नेछन्। जसमा चार समूहमा पाँच पाँच टोली हुनेछन्। समूहका शीर्ष दुई दुई टोली गरी आठ टोली सुपर(८ मा पुग्नेछन्। त्यसपछि पनि दुई समूहमा प्रतिस्पर्धा हुने सपुर-८ का शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन्। भारत र पाकिस्तान बीचका खेल श्रीलंकामा हुनेछ। फाइनलका लागि भारतको अमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम वा पाकिस्तान योग्य भए कोलम्बोको आर प्रेमदासा स्टेडियम हुनेछ। नेपाली टोली :  रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदिल अन्सारी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा, सोमपाल कामी।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *