नेपाली चलचित्र बिगुल को फर्स्ट लुक सार्वजनिक,माघ ९ देखि देशभर प्रदर्शन हुने
काठमाडौँ । एउटा संयोग बन्न पुगेको छ नेपाली फिल्म क्षेत्रमा । गत वैशाख महिनामा शुरु भएको नेपाली फिल्म ‘बिगुल’को मूल आशयसँग गत भदौमा भएको जेनजी युवाहरूको आन्दोलनको मूल आशय एउटै हुन पुगेबाट अपभूत संयोग बनेको कुराले ‘बिगुल’का निर्देशक रमेश कोइराला एकदम उत्साहित भएका छन् । ‘बिगुल’ फिल्मको फर्स्ट लुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ। फिल्मको निर्देशन तथा कथा रमेश कोइरालाको रहेको छ भने कल्पना पौडेलको प्रस्तुति रहेको छ । ‘बिगुल’ फिल्म आगामी माघ ९ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउने भएको छ । सार्वजनिक गरिएका तीन प्रकारका पोस्टरमध्ये एउटामा अभिनेत्री बेनिशा हमाल गम्भीर भावमा छिन्। त्यो पोस्टरको पृष्ठभूमिमा राँको लिएका आन्दोलनकारीहरूको हुल देखिन्छ। दोस्रो पोस्टरमा बेनिशासहित अभिनेता नरेन खड्का र रमेश बुढाथोकी आक्रोशित मुद्रामा प्रस्तुत भएका छन् भने तेस्रो पोस्टरमा फिल्मका सम्पूर्ण प्रमुख कलाकारहरूलाई समेटिएको छ। गत वैशाखको दोस्रो साता शुभ मुहूर्त गरी जेठबाट छायाङ्कन थालिएको यस फिल्ममा उठाइएको विषयवस्तु र गत भदौ २३(२४ गते जेनजी नव युवाहरूले उठाएका आन्दोलनका मागमा समानता देखिएको निर्माण पक्षले जनाएको छ।
निर्माण पक्षले यो फिल्म जेनजी आन्दोलनप्रति समर्पित गरिएको भनेर उल्लेख गरेको छ। कथाकार तथा निर्माता दिनेश कोइरालाले फिल्ममा उठाइएको मूल मुद्दा र पछि जेनजी पुस्ताले उठाएका माग एवम् देश विकासप्रतिको आम नेपालीहरूको चाहना ठ्याक्कै मिल्न गएको बताएका छन्। उनले फिल्मले युवा र महिलामा चेतना जगाउँदै भ्रष्टाचार र विकृति उन्मूलनका लागि परिवर्तनको बिगुल फुकेको दाबी गरेका छन्। निर्देशक रमेश कोइरालाका अनुसार फिल्मले स्वस्थ मनोरञ्जनका साथै समाज परिवर्तनका लागि आवाज बुलन्द गरेको र महिलाले गर्नुपरेको सङ्घर्ष तथा बलिदानकीको कथा समेटिएको उनको भनाइ छ। म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको ‘बिगुल’ फिल्ममा बेनिशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मिरा पण्डित, मानश्री शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ। फिल्ममा प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा तथा संवाद, शिव ढकालको छायाङ्कन, कमल राई र कविराज गहतराजको नृत्य तथा एनवी महर्जनको द्वन्द्व निर्देशन रहेको छ।
















