सुनको मूल्य अहिलेसम्मकै महँगो
काठमाडौं । नेपाली बजारमा आइतबार(आज) सुनको मूल्यले नयाँ रेकर्ड कामय गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ५८ हजार ८०० रुपैयाँ तोकिएको छ। शुक्रबार सुन तोलाको २ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा २२ सय रुपैयाँले बढेको हो ।
यससँगै आज सुनको मूल्य अहिलेसम्मकै महँगो बनेको हो । यसअघि असोज ३१ गते सुनको भाउले २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो । आज चाँदी तोलामा ८० रुपैयाँ घटेको छ । गत शुक्रबार तीन हजार ९०५ रुपैयाँ रहेको चाँदीको मूल्य आज तीन हजार ८२५ रुपैयाँ तोकिएको हो ।
















