मुख्यमन्त्री बानियाँद्वारा आफ्नो सेवा सुविधाबापतको रकमबाट चेपाङ दम्पतीलाई नयाँ घर हस्तान्तरण

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफ्नो सेवा सुविधाबापतको रकमबाट मकवानपुरको कैलाश गाउँपालिका–४ का विपन्न चेपाङ दम्पतीका लागि घर निर्माण गरिदिएका छन्। एक कार्यक्रमकाबिच मुख्यमन्त्री बानियाँले लालकुमार चेपाङ र सानुमाया चेपाङलाई नवनिर्मित घर हस्तान्तरण गरेका हुन्। कैलाश गाउँपालिकाको सिफारिसमा मुख्यमन्त्रीले आफ्नै निजी खर्चमा करिब ८ लाख रुपैयाँको लगानीमा तीन कोठाको जस्ताले छाएको घर र शौचालय निर्माण गराएका हुन्। विगत लामो समयदेखि जीर्ण र असुरक्षित झुपडीमा बस्दै आएका ५० वर्षीय लालकुमार र आंशिक अपाङ्गता भएकी उनकी पत्नी सानुमाया आर्थिक अभावका कारण घर बनाउन असमर्थ थिए। नयाँ घर पाएसँगै उनीहरूका लागि आवश्यक लत्ताकपडाको व्यवस्थापन भने गाउँपालिकाले गर्ने भएको छ।

घर हस्तान्तरण गर्दै मुख्यमन्त्री बानियाँले आफ्नो निर्वाचन क्षेत्रका कोही पनि नागरिक गाँस, बास र कपासबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले व्यक्तिगत र सरकारी दुवै तवरबाट काम गरिरहेको बताए। उनले प्रदेश सरकारमार्फत आगामी दिनमा गरिब, दलित र सीमान्तकृत समुदायका लागि एक हजार वटा घर निर्माण गर्ने कार्यविधि अघि बढाइएको जानकारी दिए। साथै, आयआर्जनका लागि प्रतिपरिवार २ लाख रुपैयाँ निर्ब्याजी ऋण दिने योजना समेत उनले सुनाए। कार्यक्रममा मुख्यमन्त्रीले चेपाङ दम्पतीलाई बाख्रा पालन गरी आत्मनिर्भर बन्न आग्रह गर्दै तत्कालका लागि नगद २० हजार रुपैयाँ समेत सहयोग गरे। बानियाँले यसअघि पनि मनहरीमा एक विपन्न परिवारलाई घर बनाइदिएका थिए भने राक्सिराङमा अर्को एक घर निर्माणको क्रममा रहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *