सुनको मूल्य तोलामा दुई लाख ७६ हजार ५०० रुपैयाँ

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । तीन दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो । मंगलबार सुनको मूल्य तोलामा १८ सय र चाँदीको मूल्य तोलामा १४५ रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक तोला सुनको मूल्य रु दुई लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मोल रु पाँच हजार ३४० कायम भएको छ । गत आइतबार प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार तोलामा चार हजार १०० ले बढेर दुई लाख ७४ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ४ हजार ९९० रुपैयाँमा खरिदबिक्री भएको एक तोला चाँदी हिजो पाँच हजार १९५ रुपैयाँमा किनबेच भएको थियो । अमेरिकी डलरको उतारचढाव तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको व्यवसायीहरूले बताएका छन् । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५८८ र त्यति नै परिमाणको सेतो धातु ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *