सूर्य नेपाल इस्टर्न ओपन धरानमा सुरु

धरान । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको दोस्रो प्रतियोगिता ‘सूर्य नेपाल इस्टर्न ओपन बुधबारदेखि धरान गल्फ क्लबमा सुरु हुँदैछ। कोशी प्रदेशको सानको रूपमा परिचित धरान गल्फ क्लबमा आयोजना हुने यो प्रतियोगिता सूर्य नेपाल प्रा.लि.को प्रायोजनमा तीन दिनसम्म ५४ होलमा खेलाइनेछ। प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ। रुखले घेरिएका फेयर(वे र सट-सेपिङ क्षमताको कडा परीक्षा लिने धरान गल्फ क्लब अर्को एक रोमाञ्चक प्रतियोगिताको साक्षी बन्ने तयारीमा रहेको छ। प्रतियोगिताको उपाधि विजेताले १ लाख ७० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख २५ हजार र तेस्रो स्थान हासिल गर्ने खेलाडीले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। शीर्ष १८ स्थानमा रहने खेलाडीहरूले नगद पुरस्कार बाँडफाँड गर्नेछन्। प्रतियोगितामा २९ जना व्यावसायिक खेलाडी र ह्यान्डिक्याप ५ वा सोभन्दा कम भएका २२ जना एमेच्योर खेलाडी सहभागी हुनेछन्। अर्डर अफ मेरिटका नम्बर १ केवाड़ी तथा डिफेन्डिङ च्याम्पियन निरज तामाङ मुख्य दाबेदारका रूपमा रहेका छन्।

घरेलु मैदानको फाइदा पाउने निरजलाई सुक्र बहादुर राई, भुवन नगरकोटी, दिनेश प्रजापति, जयराम श्रेष्ठ, सञ्जय लामा र धन थापाजस्ता अनुभवी खेलाडीहरूले कडा चुनौती दिनेछन्। सिजनको पहिलो प्रतियोगिताको विजेता एमेच्योर खेलाडी राहुल विश्वकर्माले प्रोफेसनल खेलाडीलाइ कडा चुनौती दिने अपेक्षा गरिएको छ। ३६ होलको खेलपछि कट लागु हुनेछ, जसअनुसार शीर्ष १८ व्यावसायिक खेलाडी र सोहि कटमा एमेच्योरहरू अन्तिम चरणमा प्रवेश गर्नेछन्। प्रतियोगिताको समापन माघ १७ गते शनिबार प्रो–एम प्रतियोगितासँगै हुनेछ। प्रो–एम इभेन्टमार्फत एमेच्योर गल्फरहरूले व्यावसायिक खेलाडीसँग एउटै टिममा खेल्ने अवसर पाउनेछन्, जसले प्रतियोगितालाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ। सूर्य नेपाल गल्फ टुर २०२५-२६ मा कुल आठ प्रतियोगिता समावेश छन्, जसको समग्र पुरस्कार राशि ८० लाख रुपैयाँ रहेको छ। नेपालको प्रमुख व्यावसायिक गल्फ सर्किटका रूपमा स्थापित यो टुरले यस वर्ष पनि प्रतिस्पर्धात्मक र रोमाञ्चक खेल प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *