प्रतिनिधिसभा निर्वाचनमा उमेदवार मनोनयन दर्ता गर्न के–के चाहिन्छ ?

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उमेदवार मनोनयन दर्ता हुँदै छ । सम्बन्धित जिल्ला र क्षेत्र पुगेर उमेदवारले आज जिल्ला निर्वाचन कार्यालयले तोकेको स्थानमा मनोनयन दर्ता गर्नुपर्नेछ । उमेदवारले मनोनयनका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा लिएर उपस्थित हुनुपर्नेछ । कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि जरुरी रहेको आयोगले जनाएको छ । आयोगले अन्य सरकारी आवश्यक कागजातसमेत लिएर आउन आग्रह गरेको छ । दलको तर्फबाट उमेदवारी दिएको भए उमेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सोसरहको समितिको पदाधिकारीले प्रदान गरेको प्रतिनिधिसभा सदस्य उमेदवार मनोनयनको औपचारिक पत्र आवश्यक पर्नेछ । एकल चुनाव चिह्न लिइ संयुक्त रूपमा निर्वाचनमा सहभागी दलहरूको हकमा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को बमोजिमको उमेदवार मनोनयनको औपचारिक पत्र पनि उपलब्ध गराउनुपर्नेछ । प्रतिनिधिसभा सदस्य निर्वाचनका उमेदवारका लागि रु १० हजार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गरेको रसिद वा भौचर पनि आवश्यक पर्नेछ । महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उमेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ । आर्थिक विपन्न भएकाको हकमा सम्बन्धित स्थानीय तहले आर्थिक रूपमा विपन्न भनी सिफारिस गरेको पत्र पनि जरुरी पर्ने आयोगले जनाएको छ ।

उमेदवार हुने व्यक्तिले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ बमोजिमको स्वघोषणा पत्र पनि उपलब्ध गराउनुपर्नेछ । आफ्नो चल, अचल सम्पत्ति, बैंक तथा वित्तीय संस्थामा रहेको खाता, धितोपत्र सेयर, ऋणपत्र, कसैलाई ऋण दिएको वा लिएको भए त्यसको सम्पूर्ण विवरण उल्लेख गरी सिलबन्दी रूपमा पेस गरेको सम्पत्ति विवरण पनि उपलब्ध गराउनुपर्नेछ । वैयक्तिक विवरण फाराम भर्नुपर्नेछ । उमेदवार हुने व्यक्तिले आफू निर्वाचित, मनोनीत वा नियुक्त भएको निकायबाट कुनै पनि प्रकारको पेस्की लिएको भए सो पेस्की तिरेको व्यहोराको निस्सा पनि उपलब्ध गराउनुपर्नेछ । लेखा परीक्षणबाट कुनै पनि उमेदवारका नाममा किटानी साथ असुल उपर गर्नुपर्ने भनी कायम भएको बेरुजु भए सो बेरुजु फछ्र्योट गरेको निस्सा पनि जरुरी पर्ने आयोगले बताएको छ । उमेदवारी मनोनयनका लागि बिहान १० देखि बेलुका ५ बजेसम्मको समय तोकिएको छ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उमेदवार दर्ता गर्दै छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *