कर्णालीमा हिमपात र वर्षा,जनजीवन प्रभावित
कर्णालीमा हिमपात र वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । विशेषगरी हिमाली जिल्लाहरुमा हिमपातसँगै वर्षा भइरहेको छ भने पहाडी जिल्लाहरुमा वर्षाका कारण चिसो बढेको छ । हिमपातले हिमाली जिल्लाका डाँडाकाँडाहरु ढपक्कै भएका छन् । कर्णालीमा गएरातिदेखि निरन्तर वर्षा भइरहेको छ । हिमाली जिल्लाहरु जुम्ला, हुम्ला, मुगु र डोल्पामा हिमपातका कारण हवाई यातायात सेवा बन्द हुनुका साथै विद्युत् सेवा समेत अवरुद्ध भएका छन् । डोल्पाका पूर्णकुमार सार्कीका अनुसार त्यहाँ सञ्चार सेवा समेत प्रभावित भएको छ । ‘हिमपात र वर्षाले विद्युत् अवरुद्ध भयो, विद्युत् आपूर्ति नै नभएपछि सञ्चार सेवा समेत प्रभावित भएको हो । अत्यधिक चिसोले मानिसहरू घरभित्रै बस्न बाध्य भएका छन् भने पशुचौपायालाई गोठबाट बाहिर निकाल्न सकिएको छैन । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेताहरु गाउँ(गाउँमा चुनाव प्रचारप्रसारमा व्यस्त छन् । हिमपातका कारण चुनावी अभियान समेत प्रभावित भएको नेताहरु बताउँछन् । कर्णालीका पूर्व मुख्यमन्त्री तथा कांग्रेस नेता जीवनबहादुर शाहीले हिमपातका कारण चुनाव प्रचारप्रसार कष्टकर भएको भन्दै भिडिओ सामाजिक सञ्जालमा राखेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा(बाट हुम्लामा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका डा. दीपेन्द्र रोकायाले हिउँले हुम्ला सदरमुकाम सिमकोट सेताम्य भएको र चुनावी अभियान प्रभावित भएको बताए । ‘हामी जनताको घरदैलोमा जान तम्तयार भएर बसेका छौँ, तर हिउँले स्वागत गरिरहेको छ,’ उनले भने । वर्षाका कारण सुर्खेतमा समेत विद्युत् अवरुद्ध भएको छ भने सञ्चार सेवाले काम गरिरहेको अवस्था छैन ।
नेपाल विद्युत् प्राधिकरण सुर्खेत कार्यालयका अनुसार, कोहलपुर सुर्खेत ३३ केभीए विद्युत् प्रसारण लाइन अन्तर्गत जङ्गल क्षेत्रमा रुख ढलेका कारण तारमा क्षति हुँदा विद्युत् सेवा अवरुद्ध भएको हो । सुचारु गर्न काम भइरहेको प्राधिकरणले जनाएको छ । हिमपात र वर्षाका कारण हिउँदे बालीलाई भने राहत पुगेको किसानहरुले बताएका छन् । दैलेख ठाटीकाँध गाउँपालिका—१ का अर्जुन बुढाले वर्षाका कारण हिउँदे खेतीलाई ठुलो राहत पुगेको बताए । ‘यो वर्ष पानी नपर्दा गहुँ सुक्न लागेका थिए, गहुँका बोटहरु पहेंलो भइसकेका थिए,’ उनले भने, ‘पानीले थोरै भए पनि राहत भएको छ । कर्णाली प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकारी मुकुन्द शर्माले हिउँदे वर्षाले खेतीपाती गर्ने किसानलाई ठुलो राहत भएको बताए । ‘गहुँ, जौ लगायत हिउँदे खेतीहरुमा खडेरीका कारण सुक्ने, रोग, कीरा लाग्ने अवस्था आएको थियो,’ उनले भने, ‘केही राहत भएको छ ।’ उनका अनुसार हिउँदे खेतीका लागि पुस महिनामा पानी पर्नु अझ राम्रो हो । यद्यपि यो पटक केही ढिलोगरी वर्षा भएको उनी बताउँछन् ।
















