चुनावको मुखमा राष्ट्रपति र उपराष्ट्रपति विदेश भ्रमणमा जाने
काठमाडौँ । सरकार फागुन २१ गते प्रतिनिधिसभाको चुनाव गराउने तयारीमा रहेका बेला राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय यादव विदेश भ्रमणको तयारीमा लागेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति पौडेल माघ १८ गते जापानको चार दिने औपचारिक भ्रमणका लागि त्यता जाने तयारीमा छन् । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठको अवसरमा राष्ट्रपति पौडेललाई जापानले भ्रमणका लागि बोलाएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । नेपाल र जापानबिच सन् १९५६ सेप्टेम्बर १ (वि.सं.२०१३ भदौ १७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । अहिले जापानमा पनि चुनावको तयारी भइरहेको छ । राष्ट्रपति पौडेल फर्केकै दिन उपराष्ट्रपति यादव युएई जाने तयारी भइरहेको छ ।
युएईमा हुने ‘वर्ल्ड गभर्मेन्ट समिट’ मा सहभागी हुन उनी त्यता जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । उपराष्ट्रपति यादवको युएई जाने कार्यक्रम पहिला नै तय भइसकेका कारण राष्ट्रपति पौडेलको भ्रमण तालिका छोटो बनाएको परराष्ट्रका एक अधिकारीले बताए । राष्ट्रपति तथा उपराष्ट्रपति एकैपटक देश बाहिर रहन नहुने परम्परा छ । त्यसैले राष्ट्रपति पौडेलको भ्रमणलाई छोटो बनाएको बताइएको छ । नेपाल–जापान सम्बन्ध प्रवद्र्धनमा योगदान पुर्याएको भन्दै जापान सरकारले सन् २०२० मा राष्ट्रपति पौडेललाई ‘द ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ बाट सम्मान गरेको थियो । त्यसबेला पौडेल कांग्रेसका वरिष्ठ नेता थिए ।
















