बढ्दैछ रास्वपामा छाड्नेको लर्को, नेतृत्त्वमाथि आर्थिक अपचलनको आरोप

काठमाण्डौं । प्रतिनिधिसभा निर्वाचनको मुखैमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र असन्तुष्टि चुलिँदै गएको छ। फागुन २१ गतेको निर्वाचनमा पहिलो शक्ति बन्ने दाबी गर्दै चुनावी म्याराथनमा व्यस्त रास्वपा, आन्तरिक विवाद र नेताहरूको बहिर्गमनसँग जुझिरहेको छ। संस्थापक र प्रभावशाली नेताहरूले पार्टी नेतृत्वमाथि आर्थिक अपचलन, पारदर्शिताको अभाव र टिकट वितरणमा स्वेच्छाचारिता भएको आरोप लगाउँदै लगातार राजीनामा दिएका छन्। पछिल्लो तीन हप्तामा मात्र बागमती प्रदेश उपसभापति दिपेन्द्र ‘दिनेश’ हुमागाईं, केन्द्रीय नेता प्रणय शमशेर राणा, मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मा, सुस्ता गाउँपालिका उपसभापति गुप्तसेन ठकुरी, धनगढी उपमहानगरपालिकाका संस्थापक सभापति ईश्वरी विष्ट र बर्दघाट नगरपालिकाका नेता जीतबहादुर हरिजन, लगायत दर्जनौँ नेताहरूले पार्टी छाडेका छन्। हुमागाईंले आफ्नो राजीनामामा उल्लेख गरेका छन्, “पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापनाकालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धताविपरीत भएको छ।” संस्थापक नेता भुर्तेलले पनि टिकट वितरण र नेतृत्व निर्णयमा अपारदर्शिता बढेको आरोप लगाउँदै पार्टी परित्याग गरेका थिए। राणाले पार्टी नेतृत्वको संगठनात्मक पारदर्शिता र आन्तरिक लोकतन्त्र कमजोर भएको टिप्पणी गर्दै अब स्वतन्त्र सामाजिक र राजनीतिक अभियानमा लाग्ने बताउनुभएको छ। सुस्ता उपसभापति ठकुरीले भने पार्टीको व्यवहारमा वैकल्पिक राजनीतिको सिद्धान्त देख्न नसक्दा अलग हुने निर्णय लिएको बताए। विश्लेषकहरूको अनुसार नयाँ राजनीतिक शक्तिमा प्रारम्भिक उत्साहपछि संगठन व्यवस्थापन चुनौतीपूर्ण हुन्छ। रास्वपामा पनि यही प्रक्रिया देखिएको छ। संगठनात्मक निर्णय सीमित घेरामा केन्द्रित हुनु, टिकट वितरणमा पारदर्शिता नदेखिनु र अनुभवशाली नेताहरूको असन्तुष्टि राजनीतिक स्थायित्वलाई चुनौती दिइरहेको छ। पोखरामा रास्वपा उम्मेदवारमाथि सहकारी पीडितले खनिएको घटना पनि पार्टीको सार्वजनिक छवि कमजोर बनाएको छ। सूर्यदर्शन सहकारीका बचतकर्ता कृष्णप्रसाद जैसीले कास्की–३ की उम्मेदवार बिना गुरुङसँग आफ्नो छोराको विद्यालयको बिल बुझाउने अनुरोध गर्नुभएको थियो। यसले पार्टीको व्यवस्थापन र नीतिप्रतिको सवाल उठाएको छ। रास्वपाबाट अलग भएका नेताहरूले मतदातालाई चेतावनी दिएका छन कि निर्वाचनमा ‘चटकदार अनुहार’ होइन, देश र समाज बुझ्ने जिम्मेवार राजनीतिक व्यक्तित्व र दल रोज्नुपर्छ। हुमागाईंले भनिेन्, “फागुन २१ गतेको निर्वाचनमा नीतिगत स्पष्टता, देशबोध र समाजबोध भएका नेताहरूलाई मत दिनुपर्छ।” राजनीतिक विश्लेषकहरूका अनुसार, रास्वपामा देखिएको असन्तुष्टि र नेता बहिर्गमनले आगामी प्रतिनिधिसभा निर्वाचनमा दलको प्रतिस्पर्धात्मक स्थिति कमजोर पार्न सक्छ। संगठनात्मक अस्थिरता, टिकट वितरणमा विवाद र आन्तरिक लोकतन्त्रको अभावले पार्टीको लोकप्रियता र निर्वाचन रणनीतिमा प्रत्यक्ष असर पुर्‍याउने सम्भावना छ। रास्वपाले भने असन्तुष्टिका बाबजुद संगठन सुदृढीकरणको प्रक्रिया जारी राखेको दाबी गरेको छ। तर, पछिल्लो घटनाक्रमले पार्टीभित्र गहिरिँदै गएको असन्तुष्टिको संकेत दिइसकेको छ। आगामी निर्वाचनमा यसले पार्टीको भविष्य र नयाँ राजनीतिक शक्ति बन्ने आकांक्षामा कस्तो प्रभाव पार्छ भन्ने विषय राजनीतिक वृत्तमा बहसको केन्द्रमा छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *