चीनले बनायो क्यामेरा बाहिर निकाल्न मिल्ने स्मार्टफोन

चिनियाँ प्रविधि कम्पनी युलेफोनले आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । ‘युलेफोन रगवन एक्सस्न्याप ७ प्रो’ नामक उक्त फोन संसारकै पहिलो यस्तो स्मार्टफोन हुनेछ, जसको क्यामेरालाई फोनबाट बाहिर निकालेर एक्शन क्यामेराजस्तै गरी प्रयोग गर्न सकिन्छ । कम्पनीले सार्वजनिक गरेको टीजर र प्रेस विज्ञप्तिअनुसार सोमबार मार्च २ देखि बार्सिलोनामा सुरु हुने मोबाइल वर्ल्ड कंग्रेसमा यो फोन स्तुत हुन सक्नेछ । अहिलेसम्म बजारमा शक्तिशाली क्यामेरा भएका थुप्रै स्मार्टफोन आए पनि क्यामेरालाई नै फोनबाट अलग गरेर स्वतन्त्र रूपमा प्रयोग गर्न मिल्ने सुविधा भने पहिलोपटक देखिन लागेको हो। ‘युलेफोन रगवन एक्सस्न्याप ७ प्रो’ को सबैभन्दा ठूलो विशेषता भनेको यसको म्याग्नेटिक डिटेचेबल क्यामेरा हो । यो क्यामेरा करिब औँलाको नङ जत्रो सानो मोड्युल हुने र सजिलै फोनबाट छुट्याउन सकिने बताइएको छ । कम्पनीले यो मुख्य क्यामेरा हो वा सहायक सेन्सर हो भन्ने अझै स्पष्ट पारेको छैन । फोनबाट अलग भएपछि यसलाई सानो एक्शन क्यामेराजस्तै प्रयोग गर्न सकिनेछ । फोटो वा भिडियो खिच्दा स्मार्टफोनको स्क्रिनलाई रिमोट मोनिटरको रूपमा प्रयोग गर्न सकिने सुविधा पनि हुनेछ । जानकारीअनुसार यस क्यामेरामा सानो ब्याट्री रहनेछ, जसले करिब ३० मिनेटसम्मको ब्याकअप दिन सक्छ । फोनमा ६.६७ इन्चको १.५ के रिजोल्युसन भएको एमोलेड डिस्प्ले रहनेछ । १२० हर्ज रिफ्रेस रेट सपोर्ट हुने भएकाले स्क्रोलिङ, गेमिङ र भिडियो हेर्ने अनुभव अझै स्मूथ र आकर्षक हुने अपेक्षा गरिएको छ। यस स्मार्टफोनमा मेडियाटेकको डाइमेन्सिटी ८४०० फाइभ जी प्रोसेसर प्रयोग गरिनेछ । यो चिपसेट मध्यम तथा प्रिमियम सेग्मेन्टमा ससक्त कार्यक्षमताका लागि चिनिन्छ । गेमिङ, मल्टिटास्किङ र उच्च गुणस्तरको भिडियो रेकर्डिङमा प्रयोगकर्ताले राम्रो अनुभव पाउने अनुमान गरिएको छ । फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहनेछ भने ६४ मेगापिक्सेलको नाइट भिजन क्यामेरा पनि समावेश हुने बताइएको छ, जसले कम प्रकाशमा फोटो खिच्न सहयोग गर्नेछ । यसमा ९ हजार मिलीएम्पियर आवर क्षमताको ठूलो ब्याट्री दिने तयारी गरेको छ । यति ठूलो ब्याट्री सामान्य स्मार्टफोनमा कमै देखिने भएकाले लामो समयसम्म चार्जको झन्झटबिना प्रयोग गर्न सकिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *