पश्चिम एसियातर्फ तीन अमेरिकी युद्धपोत प्रस्थान

काठमाडौं । अमेरिकाले मध्यपूर्वमा आफ्नो सैन्य उपस्थिति तीव्र रूपमा बढाइरहेको छ । तीन अमेरिकी युद्धपोतका साथ मरिन सैनिकहरू मध्यपूर्वतर्फ पठाइएको स्याटेलाइट तस्बिरबाट देखिएको सीएनएनले जनाएको छ । त्यसमा यूएसएस न्यु ओर्लिन्स, यूएसएस त्रिपोली र यूएसएस सान डियागो छन् । यी युद्धपोतमा करिब दुई हजार २०० सैनिक तैनाथ छन् । उनी ३१औँ मरिन एक्सपेडिसनरी युनिटका हिस्सा भएका जनाइएको छ । यो युनिट तत्काल प्रतिकार्यका निम्ति सधैँ तयार मानिन्छ । यूएसएस त्रिपोली एक ‘एम्फिबियस असल्ट सिप’ हो । यसले मरिन सैनिक, हेलिकोप्टर र एफ–३५बी जस्ता लडाकु विमान बोक्न सक्छ । यी तीनै युद्धपोत पहिले जापाननजिक थिए । तर, हाल भारतनजिक दक्षिणी हिन्द महासागरमा छन् । अमेरिकी समाचार वेबसाइट एक्सियोसले राष्ट्रपति डोनाल्ड ट्रम्प सरकारले इरानको खार्ग टापु कब्जा वा त्यसलाई घेराबन्दी गर्ने योजनामा विचार गरिरहेको जनाएको छ ।
इरान युद्ध अर्को हप्ता नयाँ चरणमा पुग्न सक्ने
अमेरिकाको यो तयारीले इरान युद्ध अर्को हप्ता नयाँ चरणमा पुग्न सक्छ । ट्रम्पले यसअघि मध्यपूर्वमा थप सैनिक नपठाउने बताए पनि उनका निर्णय अचानक र अप्रत्याशित हुने गरेका छन् । ट्रम्पले इरानमा कारबाही तीव्र पार्न हजारौँ सैनिक पठाउने विषयमा गम्भीरतापूर्वक विचार गरिरहेको रोयटर्सले उल्लेख गरेको छ । अमेरिकाको यो सैन्य ‘मुभ’का पछाडि दुई ठूला कारणमा होर्मुज जलमार्ग पुनः खोल्नु र इरानको युरेनियममा कब्जा गर्नु रहेको जनाइएको छ । विश्वको करिब २० प्रतिशत तेल र ग्यास आपूर्ति यही होर्मुज जलमार्गबाट हुन्छ । फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि इरानले त्यहाँ जहाजको आवतजावत रोकेको छ । सोही कारण तेलको मूल्य बढेको छ । ट्रम्पले सहयोगी देशहरूलाई युद्धपोत पठाउन आग्रह गरे पनि कसैले सहयोग नगरेपछि यूएसएस त्रिपोली र मरिन सैनिकहरू नै अमेरिकाका निम्ति मुख्य विकल्प बनेका छन् । इरानको नौसेनालाई ठूलो क्षति पुगिसकेकाले अमेरिकाका निम्ति इरानीतटीय क्षेत्रमा सैनिक उतार्नु कम जोखिमपूर्ण मानिएको छ । दोस्रो ठूलो कारणमा इरानको अत्यधिक सम्वर्धन गरिएको युरेनियम हो । इरानसँग करिब ९५० पाउन्ड युरेनियम छ । त्यो परमाणु हतियार बनाउन प्रयोग हुन सक्ने आशंका छ । यो युरेनियम ती स्थानका भग्नावशेषमा दबिएको मानिन्छ, जहाँ अमेरिका र इजरायलले आक्रमण गरेका थिए । यसलाई सुरक्षित गर्न जमिनमा सैनिक पठाउनु आवश्यक हुने जनाइएको छ ।
यूएसएस त्रिपोलीको विशेषता
यूएसएस त्रिपोलीमा एफ–३५ स्टेल्थ फाइटर जेट, एमभी–२२ ओस्प्रे हेलिकोप्टर र विशेष अवतरण जहाज छन् । ओकिनावा ९जापान०मा तैनाथ हुने २२ सय मरिन सैनिक, जो छापामार युद्ध र समुद्रबाट जमिनमा उत्रने ‘अपरेसन’मा माहिर छन् । यो जहाजको नाम सन् १८०५ मा त्रिपोलीविरुद्ध अमेरिकाको जितको सम्झनामा राखिएको हो । त्यति बेला अमेरिकाले विदेशी जमिनमा जित हासिल गरी आफ्नो झन्डा फहराएको पहिलो अवसर थियो ।
पश्चिम एसियामा अमेरिकी सैन्य उपस्थितिको अवस्था
अमेरिकाले २८ फेब्रुअरीदेखि ‘अपरेसन एपिक फ्युरी’अन्तर्गत सैन्यशक्ति बढाइरहेको छ । अमेरिकाको अब्राहम लिंकन क्यारियर स्ट्राइक ग्रुप अरबसागरमा तैनाथ छ । त्यसमा मिसाइल डेस्ट्रोयरहरू छन् । जेराल्ड आर फोर्ड क्यारियर स्ट्राइक ग्रुप मुख्य जहाजमा आगलागी भएपछि यो मर्मतका निम्ति ग्रीसको सुडा बे गइरहेको छ । पूर्वी भूमध्यसागरमा पनि तीन अमेरिकी मिसाइल डेस्ट्रोयर तैनाथ छन् । यूएसएस गोन्जालेजएम हालै अमेरिकाको नोरफोक बेसबाट प्रस्थान गरेको यो डेस्ट्रोयर पनि मध्यपूर्वमा तैनाथ हुने सम्भावना छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *