वैद्य अर्गनाइजेशनले नेपालमा आधिकारिक रूपमा भित्र्यायो इटालियन प्रिमियम ब्रान्ड ‘मोर्बिडेली’
काठमाण्डौं । नेपाली बजारमा इटालियन प्रिमियम ब्रान्ड ‘मोर्बिडेली’ भित्रिएको छ। नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक तथा प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्ड्रस्ट्रिज एण्ड ट्रेडिङ हाउसेसले इटालियन प्रिमियम ब्रान्ड ‘मोर्बिडेली’सँग आधिकारिक साझेदारी गरेको घोषणा गरेको छ। कम्पनीले दुईपांग्रे सवारी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउँदै इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाल भित्र्याउनका लागि आधिकारिक साझेदारी गरेको घोषणा गरेको हो। करिब पाँच दशक लामो व्यावसायिक अनुभव बोकेको वैद्य अर्गनाइजेसनले नेपालको अटो मोबाइल क्षेत्रमा एक विश्वासिलो नामको रूपमा पहिचान बनाएको छ। चारपांग्रेतर्फ टोयोटाको सफल बिक्री वितरण गर्दै आएको यस समूहले पछिल्लो समय दुईपांग्रे क्षेत्रमा पनि आफ्नो व्यवसायलाई आक्रामक रूपमा विस्तार गरिरहेको छ। यसअघि वैद्य कम्पनीले प्रिमियम इलेक्ट्रिक स्कुटर ‘एथर’ ब्रान्डलाई नेपाली बजारमा भित्र्याएर उल्लेखनीय सफलता हासिल गरिसकेको छ।
आधुनिक प्रविधि, उच्च प्रदर्शन र नवप्रवर्तनमा आधारित एथरको सफलताले वैद्य अर्गनाइजेशनलाई दुईपांग्रे बजारमा बलियो प्रतिस्पर्धीको रूपमा स्थापित गरेको थियो। अब सोही सफलतालाई निरन्तरता दिँदै समूहले इटालीको प्रतिष्ठित मोटरसाइकल ब्रान्ड मोर्बिडेलीलाई नेपालमा भित्र्याएको हो। मोर्बिडेली आफ्नो प्रिमियम डिजाइन, शक्तिशाली इन्जिन र रेसिङ हेरिटेजका लागि विश्वभर परिचित ब्रान्ड हो। यसले नेपाली युवा तथा बाइक उत्साहीहरूलाई लक्षित गर्दै उच्चस्तरीय राइडिङ अनुभव प्रदान गर्ने विश्वास गरिएको छ। मोर्बिडेली ब्रान्डमार्फत वैद्य अर्गनाइजेशनले प्रिमियम मोटरसाइकल सेग्मेन्टमा नयाँ मापदण्ड स्थापना गर्ने लक्ष्य लिएको छ। निकट भविष्यमा विभिन्न मोडेल सार्वजनिक गर्दै देशव्यापी सञ्जाल विस्तार गर्ने योजना समेत समूहले अघि सारेको छ। मोर्बिडेली विश्वव्यापी रूपमा किवय ग्रुप अन्तर्गत सञ्चालन हुने ब्रान्ड हो, जसअन्तर्गत बेननेली मोर्बिडिली र बेन्डा जस्ता अन्तर्राष्ट्रिय मोटरसाइकल ब्रान्डहरूलाई होल्ड गर्दै आएको छ।
















