नयाँ शैक्षिक नीतिमा कडाइ, सरकारले गर्यो ब्रिज कोर्स पूर्ण रूपमा बन्द गर्ने निर्णय
काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभर सञ्चालन हुँदै आएका ब्रिज कोर्स कक्षामा पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको छ । विद्यालय तहदेखि उच्च शिक्षासम्म भर्ना प्रक्रिया सुरु हुनुअघि सञ्चालन गरिँदै आएका यस्ता कक्षाहरूले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पार्नुका साथै शिक्षामा समतामूलक पहुँचलाई कमजोर बनाउने निष्कर्षसहित मन्त्रालयले यो कदम चालेको हो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएअनुसार ब्रिज कोर्सका नाममा सञ्चालन हुने कार्यक्रमहरूले विद्यार्थीमाथि अनावश्यक आर्थिक बोझ थप्ने र प्रतिस्पर्धात्मक दबाब बढाउने देखिएको छ । यस निर्णयअनुसार आगामी वैशाख १ गतेदेखि देशभर यस्ता कक्षा पूर्ण रूपमा बन्द गरिनेछ । शिक्षामन्त्री सस्मित पोखरेल नियुक्त भएपछि आएको यो निर्णयलाई शिक्षा क्षेत्रमा नयाँ सुधारको सुरुवातका रूपमा हेरिएको छ ।
















