लेबनानमा युनिफिल शान्ति सैनिकमाथि आक्रमण
काठमाडौं । लेबनानस्थित संयुक्त राष्ट्रसंघीय युनिफिल मिसनमा तैनाथ शान्ति सैनिकमाथि आक्रमण भएको छ । आक्रमण एकजना शान्ति सैनिक मारिएका छन् भने तीनजना घाइते भएका छन् । इन्डोनेसियाले लेबनानमा मारिएका संयुक्त राष्ट्रसंघीय शान्ति सैनिक आफ्ना नागरिक भएको बताएको छ । इन्डोनेसियाको विदेश मन्त्रालयले पीडितहरू सबै चारैजना आफ्ना नागरिक भएको पुष्टि गरेको छ ।
घटनाको कडा निन्दा गर्दै मन्त्रालयले पूर्ण र पारदर्शी अनुसन्धानका लागि आह्वान गरेको छ । “हामी यो क्षतिबाट दुःखी छौँ,” इन्डोनेसियाको विदेश मन्त्रालयले भनेको छ, “अन्तर्राष्ट्रिय कानुनअनुसार, संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको सुरक्षालाई सधैँ पूर्ण रूपमा सम्मान गरिनुपर्छ । शान्ति सेनामाथि हुने कुनै पनि हानि अस्वीकार्य छ र यसले शान्ति र स्थिरता कायम राख्ने सामूहिक प्रयासलाई कमजोर बनाउँछ ।” इन्डोनेसियाका शान्ति सैनिकमाथि जहाँ आक्रमण गरिएको छ उक्त ठाउँ इजरायली सेना र लेबनानी सशस्त्र समूह हिजबुल्लाहबीचको झडपको केन्द्रविन्दुमा छ ।
















