संविधान संशोधनको बहसपत्र तयार पार्न बनेको कार्यदलको बैठक आज बस्दै

काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । कार्यदलमा नेपाली कांग्रेसका तर्फबाट मोहन आचार्य, नेकपा (एमाले)का तर्फबाट संविधानसभाका सदस्य एवं डा. भीष्मनाथ अधिकारी, नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट संविधानसभाका सदस्य एवं पूर्वकानुनमन्त्री देवप्रसाद गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय जनमोर्चाका तर्फबाट महासचिव मनोज भट्ट सदस्यका रूपमा रहेका छन् ।

नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले पठाउने प्रतिनिधिबारे आन्तरिक छलफल भइरहेको छ । उक्त दलहरूले कार्यदल सदस्यको नाम सम्भवतः आजै टुंगो लगाउनेछन् । कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुनसचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहाल पनि सदस्यका रूपमा छन् । कार्यदलको सदस्यसचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख लीलाधर सुवेदी छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *