रास्वपाद्वारा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया सुरु
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोटको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। पार्टीको केन्द्रीय कार्यालयबाट जारी परिपत्रअनुसार देशभरका प्रदेश, जिल्ला, पालिका र वडा तहमा समन्वय गरेर व्यवस्थित रूपमा उम्मेदवार सिफारिस गर्न निर्देशन दिइएको छ। पार्टीले उम्मेदवार छनोटलाई पारदर्शी, सहभागितामूलक र व्यवस्थित बनाउन केन्द्रीय स्तरमा विशेष समिति गठन गरेको जनाएको छ। उक्त समितिमा सह–महामन्त्री विपिन कुमार आचार्य संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ।
समितिले आवश्यक मापदण्ड तयार पार्दै योग्य, सक्षम र जनउत्तरदायी व्यक्तिहरूलाई प्राथमिकता दिने बताइएको छ। परिपत्रमा उल्लेख गरिएअनुसार वडा तहबाट सुरु हुने सिफारिस प्रक्रिया पालिका, जिल्ला हुँदै प्रदेशमार्फत केन्द्रीय समितिसम्म पठाइनेछ। यसका लागि स्पष्ट समयसीमा तोकिएको छ, जसअनुसार तोकिएको मितिभित्र सबै तहले आफ्नो सिफारिस पेश गर्नुपर्नेछ। पार्टीले उम्मेदवार छनोट प्रक्रियामा स्थानीय तहका कार्यकर्ताको सुझावलाई विशेष महत्व दिने र आवश्यक परेमा डिजिटल माध्यमबाट समेत विवरण संकलन गरिने जनाएको छ। साथै, सबै समितिलाई समयमै प्रतिवेदन पेश गर्न र समन्वयमा काम गर्न आग्रह गरिएको छ। यस कदमलाई आगामी निर्वाचनमा प्रभावकारी उपस्थिति जनाउने रणनीतिक तयारीका रूपमा हेरिएको छ।

















