कर्मचारीमाथि ‘स्ट्रीङ अप्रेसन’ तीव्र पारेसँगै अख्तियारको हिरासत भरिभराउ
काठमाडौं । घुस लिने कर्मचारीमाथि ‘स्ट्रीङ अप्रेसन’ तीव्र पारेसँगै अख्तियारको हिरासत भरिभराउ भएको छ । पक्राउ परेका कर्मचारीका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित हिरासत खचाखच बनेको हो । खुला रूपले १७–१८ जना आरोपी थुन्न मिल्ने हिरासतमा यतिबेला १० जना कर्मचारी पुगिसकेका छन् । घुस रिसवतमा जहाँबाट कर्मचारी समातिए पनि अख्तियारको टंगलास्थित हिरासतमा ल्याउनुपर्ने बाध्यता छ । मुलुकभरमा एउटा मात्र विशेष अदालत रहेका कारण पनि थुना म्याद अनुमतिका लागि केन्द्रमै ल्याउनुपर्ने बाध्यता अख्तियारलाई छ । अब एकैदिन पाँच–सात जना समातिए प्रहरी हिरासतमा लैजानुपर्ने हुन्छ । क्षमताभन्दा बढी भए अख्तियारले प्रहरी परिसर र प्रभागतिर पठाउने गरेको छ । पछिल्लो समय ‘स्ट्रिङ अपरेसन’लाई तीव्रता दिएका कारण हिरासत भरिँदै गएको हो । ‘‘स्ट्रीङ अप्रेसनमा पक्राउ गरेर हिरासतमा राखिएका ११ जनामध्ये एकजनाविरुद्ध मुद्दा चलेको छ । अब १० जना हिरासतमा छन् । हिरासत यतिबेला हाउसफूलकै अवस्थामा छ,’ अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले भने,‘‘मुद्दा दायर भएपछि अख्तियारले हिरासतमा राख्ने काम सकिन्छ । देशभरबाट यहीँ ल्याउनुपर्ने अवस्था भएकाले हिरासतमा नहटे प्रहरी कार्यालयतिर लैजानुपर्ने हुन्छ । पक्राउ कर्मचारी प्रहरी हिरासतको तुलनामा अख्तियार हिरासतमा बस्न चाहन्छन् । ‘‘प्रहरी हिरासतमा पाकेटमारदेखि सबै खालका व्यक्ति हुनसक्छन् । यहाँ (अख्तियार) एउटै प्रकृतिका कर्मचारी हुन्छन्, त्यही भएर बाहिर भन्दा यहाँको हिरासतमा बस्न रुचि भएको हुनसक्छ । अख्तियारमा खाने, बस्ने, सुत्ने सुविधा पनि राम्रो छ । परिवारलाई भेटघाट गर्न पनि सहज छ । त्यसैले पक्राउ परेका व्यक्ति बाहिर बस्न नरुचाउने प्रवक्ता न्यौपानेले बताए । अख्तियारको हिरासतमा यतिबेला डिट्ठा, प्रहरीदेखि इन्जिनियरसम्म छन् । बैकिङ् कसुरसम्बन्धी मुद्दामा मिलापत्र गराइदिने नाममा २० हजार घुस रकमसहित पक्राउ परेका प्रहरी नायब निरीक्षक दिनेश राउत, ५० हजार रुपियाँ घुससहित रंगेहात समातिएका रौतहट जिल्ला अदालतका डिट्ठा लवकुमार सिंह र ४० हजार रुपियाँ घुस रकमसहित पक्राउ परेका सशस्त्र प्रहरी बल, धनुषाका प्रहरी निरीक्षक वकिल अधिकारी पनि अख्तियार हिरासतमा छन् ।
यस्तै, ८५ हजार घुस रकमसहित पक्राउ परेका सहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत तीन जना कर्मचारी पनि हिरासतमा सँगसँगै छन् । आयोजनाका इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सब–इन्जिनियर रविन श्रेष्ठ अख्तियारबाट पक्राउ परेका थिए । एक लाख ४० हजार घुस रकमसहित समातिएका नेपाल विद्युत् प्राधिकरण कञ्चनपुर वितरण केन्द्र, सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास पनि यतिबेला अख्तियारकै हिरासतमा छन् । वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर मस्राङ्गी पनि हिरासतमै छन्। मस्राङ्गीलाई अख्तियार टोलीले १५ हजार रुपैयाँ घुस र स्रोत नखुलेको रकम ७७ हजार ६०० रुपियाँसहित पक्राउ गरेको थियो । दुई लाख रकम घुससहित पक्राउ परेका मालपोत कार्यालय भैरहवा रुपन्देहीका नायव सुब्बा ओमबहादुर खाम्चा मगर र ५० हजार रुपैयाँ घुससहित समातिएका जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्री पनि अख्तियारको हिरासतमा छन् ।
















