प्यारामाउन्ट मोटर्सले वुलिंगका चार नयाँ विद्युतीय सवारी थप विस्तार गर्ने घोषणा
काठमाडौं । नेपालका लागि वुलिंग मोटर्स (Wuling Motors) को आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले नेपाली बजारमा आफ्नो विद्युतीय सवारी ईभी पोर्टफोलियोलाई थप विस्तार गर्ने घोषणा गरेको छ । कम्पनीले विश्वप्रसिद्ध अटोमोबाइल समूह एसआइसी जीएम वुलिंग (SAIC-GM-Wuling) को प्रविधि र साझेदारीमा निर्मित चार नयाँ मोडेलहरू छिट्टै नेपाल भित्र्याउने तयारी गरेको हो । सन् १९५८ देखि लामो इतिहास बोकेको तथा विश्वभर ३ करोडभन्दा बढी सवारी साधन उत्पादन गरिसकेको एसजीएमडब्लूको ‘वुलिंग’ ब्रान्ड किफायती र व्यावहारिक यात्राका लागि विश्वभर परिचित छ । नेपालमा पनि सन् २०२३ देखि आफ्नो प्रभाव विस्तार गर्दै आएको यस ब्रान्डलाई प्यारामाउन्ट मोटर्सले अब नयाँ तथा विविध उत्पादनमार्फत अझ आक्रामक रूपमा अघि बढाउने रणनीति लिएको जनाएको छ । कम्पनीका अनुसार पहिलो मोडेल ‘एक्सियन ईभी’ ७ सिटर प्रिमियम एसयूभी हुनेछ, जसलाई ठूला परिवारलाई लक्षित गरी ल्याइँदैछ । यसमा ६९।२ किलोवाट आवरको ‘म्याजिक ब्याट्री प्रो’ रहेको छ, जसले एक पटकको फुल चार्जमा ५३० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । सुरक्षाका लागि ३६० डिग्री क्यामेरा र अत्याधुनिक एडास (ADAS) प्रणाली समावेश गरिएको छ । दोस्रो मोडेल ‘वुलिंग मिनी ईभी’ चार ढोकायुक्त कम्प्याक्ट कार हुनेछ, जुन सहरी क्षेत्रका लागि उपयुक्त मानिएको छ । ग्लोबल स्मल इलेक्ट्रिक भेहिकल (GSEV) आर्किटेक्चरमा आधारित यस कारले ३०१ किलोमिटरसम्मको रेन्ज दिनेछ । यसमा डीसी फास्ट चार्जिङ सुविधा पनि उपलब्ध हुनेछ । तेस्रो मोडेल ‘डेरियन एमपिभी’ ७ सिटर प्रिमियम गाडी हुनेछ, जसलाई लामो दूरीको यात्रा तथा विलासी अनुभवका लागि उपयुक्त विकल्पका रूपमा प्रस्तुत गरिएको छ । यसले ५४० किलोमिटरसम्मको रेन्ज दिनेछ भने स्लाइडिङ ढोका र आकर्षक आन्तरिक सजावट यसको मुख्य विशेषता रहनेछन् । चौथो मोडेल ‘बिङ्गो ईभी’ नेपाली बजारमा पहिलेदेखि लोकप्रिय ह्याचब्याकको नयाँ संस्करण हुनेछ ।
यो ३१.९ किलोवाट आवर (३३३ किमी रेन्ज) र ३७.९ किलोवाट आवर (४१० किमी रेन्ज) गरी दुई ब्याट्री विकल्पमा उपलब्ध हुनेछ । ५० किलोवाटको मोटर जडान गरिएको यस गाडीले ६७ हर्सपावर र १५० एनएम टर्क उत्पादन गर्नेछ । यसमा १०.२५ इन्चको डुअल इन्फोटेनमेन्ट स्क्रिन, ७९० लिटरसम्मको कार्गो स्पेस तथा एबीएस, ईबीडी र भेरियन्टअनुसार ६ वटासम्म एयरब्याग जस्ता सुरक्षा सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ । प्यारामाउन्ट मोटर्सले आफ्ना सबै वुलिंग मोडेलमा ८ वर्षको ब्याट्री वारेन्टी उपलब्ध गराउनेछ। यसले ग्राहकमा विद्युतीय सवारीप्रति थप विश्वास बढाउने कम्पनीको अपेक्षा छ । हामी नेपाली ग्राहकको आवश्यकता र यहाँको भौगोलिक अवस्था सुहाउँदा अन्तर्राष्ट्रिय स्तरका सवारी साधन भित्र्याउन प्रतिबद्ध छौँ, कम्पनीका प्रवक्ताले भने, नयाँ लाइनअपले नेपालको दिगो यातायातको लक्ष्यलाई थप टेवा पुर्याउनेछ । यी नयाँ वुलिंग मोडेलहरू छिट्टै देशभरका आधिकारिक शोरुममार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ ।
















