यी प्रदेशमा भारी वर्षा र हावाहुरीको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा अधिकांश बादल लागेको छ । बाँकी भूभागमा आंशिक बादल लागेको छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा बादल लाग्नेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा चट्याङ्ग सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेको छ।
देशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा अधिकांश बादल लाग्ने र तराई भूभागमा साधरणतया बादल लाग्नेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
















