अहिलेको शिक्षालाई सीप, प्रविधि र आत्मनिर्भर जीवनसँग जोड्नुपर्ने आवश्यकता छ : मुख्यमन्त्री बानियाँ
काठमाडौं । काठमाडौँ शिक्षा क्याम्पसको ३५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अहिलेको शिक्षालाई सीप, प्रविधि र आत्मनिर्भर जीवनसँग जोड्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनले “गरी खाने, काम गर्दै सिक्ने र कमाउँदै पढ्ने” शिक्षा प्रणाली नै आजको आवश्यकता भएको बताएका हुन्। मुख्यमन्त्री बानियाँले ज्ञानलाई जीवन सञ्चालनको आधारभूत “विज्ञान” का रूपमा व्याख्या गर्दै मानव सभ्यताको विकासक्रमसँगै ज्ञान र सीपको स्वरूप परिवर्तन हुँदै आएको उल्लेख गरे। पहिले कुटो–कोदालो र हलोमार्फत खेती गरिन्थ्यो, त्यो पनि विज्ञानकै एक रूप थियो । आजको शिक्षा पनि जीवन उपयोगी हुनुपर्छ—मानिसलाई सक्षम, आत्मनिर्भर र आत्मविश्वासी बनाउने। उनले अबको शिक्षा सैद्धान्तिक सीमाभन्दा बाहिर निस्केर व्यवहारिक, उत्पादनमुखी र प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए। अबको शिक्षाले मानिसलाई कमजोर बनाउने होइन, बलियो बनाउने हो—निराशा होइन, विश्वासमा बाँच्न सिकाउने हो, उनले स्पष्ट पारे। कार्यक्रममा बागमती प्रदेश सरकारका उद्योग मन्त्री विन्दु श्रेष्ठले शिक्षा र उद्योगबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै सीपमूलक तथा रोजगारीमुखी शिक्षामा जोड दिन आग्रह गरिन्। प्रदेश सभा सदस्यहरू पुकार महर्जन र यमुना देवी श्रेष्ठले क्याम्पसको निरन्तर प्रगतिप्रति खुसी व्यक्त गर्दै यसलाई अझ सशक्त शैक्षिक केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखे।

यसैगरी चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले स्थानीय तह र शैक्षिक संस्थाबीच सहकार्य अझ मजबुत बनाउने प्रतिबद्धता जनाउँदै क्याम्पसले समाज रूपान्तरणमा खेलेको भूमिकाको प्रशंसा गरे। वडा नं. १० का अध्यक्ष शिवकुमार महर्जन, वडा नं. १५ का अध्यक्ष घनश्याम लुइँटेल र वडा नं. ८ का अध्यक्ष प्रल्हाद रिजालले पनि क्याम्पसको समृद्धिका लागि सहकार्य निरन्तर रहने बताए। कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका सहायक निर्देशक कपिल रिजालले आयोगले क्याम्पसलाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै कार्यक्रम विस्तार, पूर्वाधार विकास र शैक्षिक गुणस्तर सुधारमा भएको प्रगतिलाई सराहना गरे। त्यस्तै, बानेश्वर क्याम्पसका क्याम्पस प्रमुख डा. घमानसिंह खड्का, पब्लिक क्याम्पस प्राध्यापक संघका महासचिव सन्तोष पण्डित, प्रमुख सम्पादक प्रा. डा. हेमाङ्गराज अधिकारी लगायतले पनि क्याम्पसको शैक्षिक योगदान र आगामी सम्भावनाबारे आफ्नो धारणा राखेका थिए। कार्यक्रमको सभापतित्व क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रा। डा। माधव भट्टराईले गरेका थिए भने क्याम्पस प्रमुख शत्रुघ्नप्रसाद गुप्ताले शैक्षिक वर्ष २०८२र८३ का प्रमुख गतिविधि, उपलब्धि तथा भावी योजनाबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए। वार्षिकोत्सवको अवसरमा उत्कृष्ट शिक्षकका रूपमा ओमप्रकाश जोशी, डा. दिपा अधिकारी र चोलाराज पाण्डेलाई नगदसहित सम्मान गरिएको थियो भने दर्शनाचार्य उपाधि हासिल गरेका सहायक क्याम्पस प्रमुख बसन्तकुमार बराललाई विशेष सम्मान प्रदान गरिएको थियो। शिक्षाप्रेमी रमेशप्रसाद गौतम तथा छात्रवृत्ति कोषमा योगदान पुर्याउने विष्णु खड्का, विष्णु पनेरु र दयाराम थापालाई पनि कदरपत्रसहित सम्मान गरिएको थियो। यसै अवसरमा क्याम्पसद्वारा प्रकाशित शैक्षिक जर्नल ‘शिक्षा शास्त्र सौरभ’ को २५औँ खण्ड प्रमुख अतिथिहरूको संयुक्त उपस्थितिमा विमोचन गरिएको थियो। कार्यक्रममा वक्ताहरूले उक्त प्रकाशनले अनुसन्धान, शैक्षिक बहस र बौद्धिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। मुख्यमन्त्री बानियाँले प्रदेशभित्र रहेका सामुदायिक कलेजहरूलाई प्रविधिमैत्री र सीपमूलक शिक्षामा रूपान्तरण गर्ने योजना रहेको उल्लेख गर्दै आगामी बजेटमा यसका लागि विशेष प्राथमिकता दिइने बताए। साथै, बागमती प्रदेश विश्वविद्यालयलाई प्राविधिक विश्वविद्यालयका रूपमा विकास गर्ने विषयमा सरकार गम्भीर रहेको उनको भनाइ थियो। कार्यक्रममा पूर्व क्याम्पस प्रमुखहरू, प्राध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक, पत्रकार तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। क्याम्पस प्रशासनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेको छ।
















