सिटी होटलको संस्थापकको शेयर लकइनमै, अफवाहमा विश्वास नगर्न कम्पनीको आग्रह

सिटी होटल लिमिटेडले कानून विपरीत ‘लकइन’ मा रहेको संस्थापक समूहको शेयर बिक्री गरेको भनी फैलाइएका अफवाहहरु पूर्णतः गलत, भ्रामक र तथ्यहीन रहेका जनाएको छ । कम्पनीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कम्पनीले सुरुवातबाट नै लकइन सम्बन्धी नियमको पूर्ण रूपमा पालना गर्दै आएको छ । यस प्रकारका निराधार र भ्रामक समाचारहरूमा विश्वास नगर्न तथा कम्पनीका आधिकारिक सूचनालाई मात्र विश्वसनीय स्रोतको रूपमा ग्रहण गर्न अनुरोध गरिन्छ ।’ कम्पनी–सचिव सुन्दरबहादुर सेनीद्धारा जारी विज्ञप्तिमा कम्पनीले सिडिएस एण्ड क्लियरिङ लिमिटेड समक्ष पत्राचार गरी संस्थापक समूहको शेयरको अद्यावधिक विवरण माग गरेको र जवाफस्वरूप कम्पनीका संस्थापक र कर्मचारी समूहका सम्पूर्ण २ करोड ७२ लाख १९ हजार ३२८ कित्ता शेयरहरु २०८३ जेठ ४ सम्म लक–इनमा रहेको उल्लेख छ । ‘हाल कम्पनीको लकइनमा रहेको शेयर कुल जारी शेयरको ९०.४० प्रतिशत (संस्थापक र कर्मचारीसमेत) रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ सिडिएससीको आधिकारिक विवरणबाट हाल कम्पनीको सम्पूर्ण संस्थापक समूहको शेयर नियमानुसार लकइनमा रहेको र सोमा कुनै पनि कैफियत नरहेको प्रमाणित हुन्छ ।’

सिटी होटलले नेपाल धितोपत्र बोर्डको स्वीकृति लिई साविक शेयरधनीहरूलाई हकप्रद शेयर जारी गरेको पनि जनाएको छ । सो क्रममा केही शेयर बिक्री नभई बाँकी रहन गएकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन नं. १५ बमोजिम कम्पनीले नेपाल धितोपत्र बोर्डलाई जानकारी गराई लिलाम बढाबढमार्फत शेयर बिक्री गरेको कम्पनीको भनाइ छ । ‘लिलाम प्रक्रियामा लगानीकर्ताहरूले आ–आफ्नो मूल्यांकनका आधारमा न्यूनतम अङ्कित मूल्य रु. १०० भन्दा माथि आफूलाई उचित लागेको मूल्यमा बोलकबोल गरी शेयर खरिद गर्नुभएको र सोही प्रस्तावको आधारमा शेयर जारी गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘लिलाम बढाबढ गर्नुपूर्व २०८२ कात्तिक १६ मा प्रकाशित सार्वजनिक सूचनामा संस्थापक तथा कर्मचारी समूहतर्फका शेयरहरू नियामकीय आवश्यकता बमोजिम २०८३ जेठ ४ सम्म लकइनमा रहने व्यहोरा स्पष्ट रुपमा उल्लेखित छ ।’ सिटी होटल लिमिटेडले सम्पूर्ण नियामकीय व्यवस्था पूरा गरी हकप्रद शेयर जारी गरेको अवस्थामा कम्पनी र कम्पनीका पदाधिकारीविरुद्ध भ्रामक एवं आधारहीन समाचार प्रकाशित हुँदै आएको विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । ‘यस्ता भ्रामक समाचार प्रकाशन गर्ने कार्यमा संलग्न सबै विरुद्ध कम्पनीले आवश्यक कानूनी कारबाही अगाडि बढाउने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *