सरकारको नीति तथा कार्यक्रम वैशाख २८ गते
काठमाडौं । सरकारले यही वैशाख २८ गते नीति तथा कार्यक्रम ल्याउने भएको छ । अपराह्न चार बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । त्यसअघि दिउँसो २ बजे राष्ट्रियसभा र प्रतिनिधिसभाका छुट्टाछुट्टै बैठक बस्नेछ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २८ गते राष्ट्रपतिले सम्बोधन गर्ने निर्णय गरेको थियो । त्यसपछि प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बसेको थियो । बैठकको तयारीका विषयमा छलफल भएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
“२८ गतेको बैठकको तयारीका विषयमा छलफल भएको छ । अपराह्न बस्ने संयुक्त बैठकमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ . अन्य बैठकको सम्भावित कार्यसूचीबारे छलफल भएको छ । विगतमा पहिले प्रि–बजेट छलफलपछि नीति तथा कार्यक्रम ल्याइन्थ्यो । अघिल्लो वर्ष नीति तथा कार्यक्रम ल्याएपछि मात्रै प्रि–बजेट छलफल भएको थियो । विगतमा दुवै अभ्यास भएका थिए । अघिल्लो आर्थिक वर्षजस्तै अहिले पनि पहिले नीति तथा कार्यक्रम प्रस्तुत भएपछि प्रि–बजेट छलफल हुनेछ, गिरीले भने । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि नीति तथा कार्यक्रम र प्रि–बजेट छलफल हुनेछ ।















