भारतको उत्तर प्रदेशमा भीषण हावाहुरी र चट्याङका कारण ८९ जनाको मृत्यु
काठमाडौं । भारतको उत्तर प्रदेश राज्यमा बुधबार आएको भीषण हावाहुरी, वर्षा र असिनापानीले ठूलो क्षति पुर्याएको टायम्स अफ इन्डियाले जनाएको छ । उत्तर प्रदेशको राज्य विपद् व्यवस्थापन विभागका अनुसार, बुधबार आएको तीव्र आँधीका कारण कम्तीमा ८९ जनाको मृत्यु भएको छ । साथै, ५३ जना घाइते भएका छन् । आँधीका कारण व्यापक धनजनको क्षति समेत भएको छ । यस क्रममा चलेको तीव्र हावा, चट्याङ र भारी वर्षाले धेरै क्षेत्रको जनजीवन अस्तव्यस्त बनाइदिएको छ । रिपोर्टका अनुसार, ८७ वटा घरहरू क्षतिग्रस्त भएका छन् भने ११४ वटा घरपालुवा जनावरको मृत्यु भएको छ ।
तीव्र हावाहुरीले रूखहरू र होर्डिङ बोर्डहरू उखेलेर सडक तथा सवारी साधनमा खसेका कारण धेरै दुर्घटनाहरू भएका छन् । धेरैजसो मानिसको मृत्यु रूख ढलेर र घरको पर्खाल भत्किएर भएको बताइएको छ । राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनालाई गम्भीरतापूर्वक लिँदै अधिकारीहरूलाई तत्काल राहत कार्य तीव्र पार्न निर्देशन दिएका छन् । सरकारले पीडित परिवारलाई २४ घण्टाभित्र आर्थिक सहायता उपलब्ध गराउने आश्वासन दिएको छ । साथै, घाइतेहरूको उपचारको उचित व्यवस्था गर्न भनेको छ ।
















