बागमती प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गतेका लागि आह्वान

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशसभाको आगामी अधिवेशन बैठक जेठ ११ गतेका लागि आह्वान गरेको छ । प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको वर्षे अधिवेशन (बजेट अधिवेशन) जेठ ११ गतेका लागि आह्वान गर्ने निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार प्रदेशसभाको वर्षे अधिवेशन अन्तर्गतको बैठक जेठ ११ गते दिउँसो १ बजे बस्ने गरी आह्वान गर्ने निर्णय भएको हो । उक्त निर्णय अनुसार प्रदेश सरकारले जेठ ११ गतेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस समेत गरिसकेको छ । उक्त सिफारिस बमोजिम प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेशसभाको अधिवेशन आह्वान गर्नेछन् ।

उक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित हुनेछ । मन्त्रिपरिषद् बैठकले सरकारले प्रदेश सरकारको कार्य विभाजन नियमावली संशोधन गर्ने निर्णय गरेको छ । मन्त्रालयहरूको सङ्ख्यामा भएको हेरफेर र कार्यक्षेत्रको पुनर्गठन पश्चात् कुन मन्त्रालयले के कस्ता कामहरू गर्ने भन्ने स्पष्ट पार्नका लागि नियमावली परिमार्जन गरिएको मन्त्री तामाङले बताए । बैठकले २ अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) नियुक्त गरेको छ । जसअनुसार भक्तपुर अस्पतालमा डा। त्रिलोचन चन्द्र झा र धादिङ अस्पतालमा डा. नवीन महासेठलाई मेसुका रूपमा पदस्थापन गर्ने निर्णय भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *