फिर्केमा आजदेखि डोजर, मेयर आचार्यले सुरुआत गर्ने

फेवातालको स्रोतको रूपमा रहेको फिर्केखोलाको खोलाघरमा अतिक्रमण गरेर बनाइएका संरचनाहरू आइतबारदेखि हटाइने भएको छ । पोखरा महानगरपालिकाको सूचनाअनुसार पोखरा २ र १८ को सीमाना अँधेरीकुनादेखि सुरु गरी एउटा डोजर वडा नं. ४ आउनेछ । ४ र ५ को सीमामा रहेको फिर्केपुलमा बनेको बुढानीलकण्ठ मन्दिरहुँदै दुइवटा एक्साभेटर र एउटा डोजर वडा नं। ५ र ८ तिर आउनेछन् । पोखरा ७ र ८ को सीमाना जिरोकिलोमिटरमा रहेको लायन्स भवनमा भत्काएपछि दुई एक्साभेटर, एक डोजर र २ टिप्पर वडा नं. ६ तिर लाग्नेछन् । यसको शुभारम्म पोखराका मेयर धनराज आचार्यले गर्नेछन् । पोखरा महानगरपालिकाले फिर्के खोलाको खोलाघरभित्र बनेका संरचना हटाउन गत जेठ ६ गते ३ दिनको अल्टिमेटम दिएको थियो । महानगरले ०८० कात्तिक १० गते पहिलोपटक ३५ दिनभित्र अतिक्रमित संरचना हटाउन सूचना जारी गरेको थियो । तर, अदालती मामलाका कारण त्यतिबेला जारी सूचना कार्यान्वयन भएन । महानगरले सूचनामा नै यी संरचना नहटाए आफैँले हटाउने र त्यसको खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल्ने चेतावनी समेत दिएको थियो ।

मेयर आचार्यले फेसबुकमा पोखरा महानगरपालिकाका ८ वटा वडाबाट बग्दै फेवातालमा मिसिने फिर्के खोलामा केही दशकअघिसम्म पिउनयोग्य पानी बग्ने गरेको जनाएका छन् । अहिले अतिक्रमणका साथै फोहोर विसर्जन गर्ने स्थलसमेत बनेको उनको भनाइ छ । खोलाघर खाली भएपछि मापदण्डभित्रका संरचना तथा फिर्के करिडोर परियोजना योजनाबद्ध रूपमा कार्यान्वयन गरिने उनको प्रतिबद्धता छ । फिर्के खोलाभित्र पर्ने सुकुम्वासीको व्यवस्थापन गरिने जनाएका छन् । फिर्केभित्रका सुकुम्वासीको नाम टिपाउन महानगरले सूचना जारी गरेको थियो । पोखरा महानगरद्वारा गठिन समितिको प्रतिवेदनअनुसार फिर्के खोलाको खोलाघरभित्र १६० वटा अस्थायी,स्थायी तथा व्यक्तिगत,संस्थागत संरचना खडा गरिएका छन् । ४० मिटरसम्ममा बहने फिर्केखोलाको क्षेत्र तीन मिटरसम्ममा खुम्चिएको पाइएको छ । सर्भेका क्रममा फिर्केखोलालाई अतिक्रमण गरेर तीन मिटर ३० सेन्टिमिटरसम्म खुम्च्याइएको भेटिएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *