मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध

काठमाडौँ । देशका विभिन्न भागमा आएको बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू नराम्ररी प्रभावित भएका छन्। आइतबार बिहान ८ बजेसम्मको आधिकारिक तथ्यांकअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा आवागमनमा अवरोध पुगेको छ। कतिपय स्थानमा सडक पूर्ण रूपमा बन्द छन् भने केही स्थानमा जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको छ। बाढी र पहिरोको सबैभन्दा ठूलो मार कोशी प्रदेशमा परेको छ। विशेषगरी पाँचथर जिल्लामा मध्यपहाडी लोकमार्गका विभिन्न खण्ड पूर्ण रूपमा बन्द भएका छन्। जेठ ८ गते गएको बाढी र पहिरोका कारण पाँचथरको याङवरक गाउँपालिकाअन्तर्गत वडा नम्बर ३ को ओयाम बजार र रिजालभिर तथा वडा नम्बर २ को दोभानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यसै प्रदेशको भोजपुर नगरपालिका ५ बोखिममा बाढीले क्षति पुर्‍याएको मध्यपहाडी लोकमार्ग हाल एकतर्फी सुचारु भएको छ र त्यहाँ वैकल्पिक बाटोको समेत व्यवस्था गरिएको छ। त्यसैगरी, पहिरोले अवरुद्ध संखुवासभाको मकालु गाउँपालिका ३ नयाँ बस्तिस्थित कोशी राजमार्ग पनि एकतर्फी रूपमा मात्र सञ्चालनमा आएको छ। उता, बागमती र कर्णाली प्रदेशका केही राजमार्गमा भने सम्भावित जोखिमलाई हेरेर पूर्वसावधानी अपनाइएको छ।

बागमती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लामा सम्भावित बाढीको जोखिमका कारण बीपी राजमार्गमा यातायात ठप्प पारिएको छ। वैशाख २२ गतेदेखि खुर्कोट(नेपालथोक(कटुञ्जेबेंसी चल्ने सम्पूर्ण सवारी साधनहरूलाई उक्त सडक खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। त्यसैगरी, कर्णाली प्रदेशको हुम्ला जिल्लामा पनि सम्भावित पहिरोको जोखिमका कारण वैशाख २९ गतेदेखि नाम्खा गाउँपालिका वडा नम्बर २ स्थित हिल्सा(सिमकोट सडक खण्डमा यातायात सञ्चालन गर्न दिइएको छैन। गण्डकी प्रदेशको म्याग्दी जिल्लामा बेनी जोमसोम सडक खण्ड दुई छुट्टाछुट्टै स्थानमा गएको पहिरोका कारण प्रभावित भएको छ। अन्नपूर्ण गाउँपालिका(३ जलथलेमा वैशाख १६ गते र रघुगंगा गाउँपालिका(३ तल्लो बैसरीमा जेठ ७ गते गएको पहिरो पन्छाएर हाल उक्त सडक खण्ड एकतर्फी मात्र सुचारु गरिएको छ। सडक पूर्ण रूपमा नखुल्दा यात्रुहरूले सास्ती व्यहोर्नु परेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *