कामना सेवा विकास बैंकद्वारा पशुपति माध्यमिक विद्यालयलाई डस्टबिन हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रुपन्देहीको सैनामैना नगरपालिका–१० स्थित श्री पशुपति माध्यमिक विद्यालयलाई डस्टबिन हस्तान्तरण गरेको छ । बैंकको सालझण्डी शाखामार्फत सम्पन्न कार्यक्रममा बुटवल क्षेत्र प्रमुख हेमन्तबाबु आचार्यले विद्यालयका प्रधानाध्यापक हरि प्रसाद थापालाई १२ थान डस्टबिन हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै प्रधानाध्यापक थापाले स्वच्छ विद्यालय, स्वस्थ विद्यार्थी र सफा समाज निर्माणका लागि फोहोर व्यवस्थापन महत्वपूर्ण पक्ष भएको उल्लेख गरे । उनले वितरण गरिएका डस्टबिनले विद्यार्थीमा सरसफाइको बानी विकास गर्नुका साथै वातावरणीय सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी, बैंकका बुटवल प्रदेश प्रमुख आचार्यले आर्थिक रूपमा कमजोर तथा विपन्न समुदायका विद्यार्थी अध्ययनरत विद्यालयमा यस्ता आधारभूत सरसफाइ सामग्रीको अभाव हुने उल्लेख गर्दै डस्टबिन वितरणले विद्यालयको सरसफाइ व्यवस्थापनलाई थप प्रभावकारी बनाउने बताए । स्वच्छ र व्यवस्थित वातावरणमा अध्ययन गर्ने अवसरले विद्यार्थीको सिकाइ उपलब्धि, अनुशासन र आत्मविश्वासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै प्रधानाध्यापक थापाले बैंकप्रति आभार व्यक्त गरे । कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । बैंकले आगामी दिनमा समेत सरोकारवालासँगको सहकार्यमा यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *