आइजीआई प्रुडेन्सियल र नेपाल पुलिस फुटबल क्लबबीच सहकार्य सम्झौता

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नेपाल पुलिस फुटबल क्लबबीच खेलकुद क्षेत्रको विकास तथा खेलाडीहरूको वित्तीय सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले सहकार्य सम्झौता भएको छ । सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहले हस्ताक्षर गरेका छन् । सम्झौतापछि नेपाल पुलिस अन्तर्गत राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानसँग आवद्ध खेलाडी, प्रशिक्षक, कर्मचारी तथा पदाधिकारीहरूलाई आइजीआई प्रुडेन्सियलका विभिन्न बीमा योजनामा आबद्ध गराई सेवा प्रदान गरिने जनाइएको छ । यस सहकार्य अन्तर्गत कम्पनीले नेपाल पुलिस फुटबल क्लबलाई आर्थिक सहयोगसमेत प्रदान गर्नेछ। उक्त सहयोगले क्लबको खेलकुद गतिविधि विस्तार, खेलाडी विकास तथा संस्थागत सुदृढीकरणमा टेवा पुग्ने विश्वास लिइएको छ ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपालको ऐतिहासिक र गौरवशाली क्लबसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै यसले खेलाडीहरूको मनोबल उच्च राख्न तथा समग्र खेलकुद क्षेत्रको विकासमा योगदान पुग्ने बताए । उनले दुवै संस्थाबीचको सहकार्य आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी, प्रहरी अतिरिक्त महानिरीक्षक शाहले खेलाडी विकासमा सहयोग गरेकोमा कम्पनीप्रति आभार व्यक्त गर्दै यस सहकार्यले क्लबको दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले यस सम्झौताले दुवै पक्षबीच दीर्घकालीन सहकार्यको आधार तयार गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *