अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने

काठमाडौं । म्यानपावर व्यवसायीहरूले अबदेखि आफुले वैदेशिक रोजगारीमा पठाएका श्रमिकहरूको नियमित अनुगमन गर्नुपर्ने भएको छ। आफूले पठाएका श्रमिकहरूको नियमित अनुगमन गर्नुपर्ने तथा रोजगारी सम्झौताअनुसार सेवा–सुविधा प्राप्त भएरनभएको सुनिश्चित गर्नुपर्ने भएको हो। वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै विदेशमा कार्यरत नेपाली श्रमिकको अवस्था नियमित अनुगमन गर्न भनेको छ। विभागले विदेशमा कार्यरत नेपाली श्रमिकबाट तलब, सेवा–सुविधा, सुरक्षित आवास तथा श्रम अधिकारसम्बन्धी विभिन्न गुनासो प्राप्त भइरहेका कारण श्रमिकको हकहित र सुरक्षाको प्रभावकारी संरक्षणका लागि नयाँ व्यवस्था लागू गरिएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त निर्देशनका आधारमा इजाजतप्राप्त म्यानपावर कम्पनीहरूले पठाएका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्न विभागले भनेको छ। सूचनाअनुसार अब म्यानपावर कम्पनीहरूले आफूले विदेश पठाएका प्रत्येक व्यक्ति तथा समूह (लट नम्बर) का श्रमिकको अवस्थाबारे अनिवार्य रूपमा नियमित अनुगमन गर्नुपर्नेछ। त्यसैगरी प्रत्येक महिनामा प्रत्येक समूहबाट कम्तीमा ५ देखि १० जना श्रमिकसँग प्रत्यक्ष सम्पर्क गरी तलब, सेवा–सुविधा, आवास, कार्य वातावरण तथा रोजगार सम्झौताका शर्तहरूको कार्यान्वयन अवस्थाबारे जानकारी संकलन गर्नुपर्ने व्यवस्था गरिएको छ।

यदि रोजगार सम्झौताविपरीत अवस्था भेटिएमा सम्बन्धित म्यानपावर कम्पनीले रोजगारदाता कम्पनीसँग तत्काल समन्वय गरी समस्या समाधान गर्नुपर्नेछ। साथै संकलित विवरण विभागले तोकेको ढाँचाअनुसार प्रत्येक तीन महिनामा विभागको संस्था अनुगमन शाखामा बुझाउनुपर्नेछ। विभागले विदेश जानुअघि श्रमिकलाई रोजगार सम्झौता, गन्तव्य मुलुकको कानुन, श्रम अधिकार, सेवा–सुविधा तथा गुनासो दर्ता प्रक्रियाबारे स्पष्ट जानकारी गराउन पनि निर्देशन दिएको छ। यस्तै विदेशमा रहेका श्रमिकले कुनै समस्या वा सम्झौताविपरीत अवस्था भोगेमा सम्बन्धित म्यानपावर कम्पनीले तत्काल सुनुवाइ गरी समाधान प्रक्रिया अघि बढाउनुपर्ने र आवश्यक परे नेपाली कूटनीतिक नियोगसँग समन्वय गरी उद्धार तथा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने सूचनामा उल्लेख छ। विभागले उक्त निर्देशनको प्रभावकारी कार्यान्वयनमार्फत विदेशमा रहेका नेपाली श्रमिकको सुरक्षा, अधिकार र कल्याण सुनिश्चित गर्ने अपेक्षा गरेको जनाएको छ ।

Oplus_131072
सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *