सेनाले जुनसुकै नेपाली नागरिकलाई तालिम दिनसक्ने

काठमाडौं । सरकारले जुनसुकै नेपाली नागरिकलाई तालिम दिन र तालिम प्राप्त गरेका व्यक्तिलाई स्वयंसेवकका रूपमा राष्ट्र सेवामा खटाउन सक्ने गरी कानुनी व्यवस्था गर्न लागेको छ । रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री वालेन्द्र साहले संघीय संसद् सचिवालयमा दर्ता गरेको ‘राष्ट्रिय सेवा दल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा सो व्यवस्था गरिएको हो । विधेयक ल्याउनुको उदेश्य र कारणबारे भनिएको छ, “विद्यालयमा अध्ययनरत विद्यार्थीमा देश प्रेम, जनसेवा, राष्ट्रिय एकताको भावना जगाई नैतिक र अनुशासित बनाउन तथा राष्ट्रिय आवश्यकताको आधारमा जुनसुकै नेपाली नागरिकलाई तालिम दिन र तालिम प्राप्त गरेका व्यक्तिलाई स्वयं सेवकका रूपमा राष्ट्र सेवामा खटाउन सक्ने गरी कानुनी व्यवस्था गर्न आवश्यक परेकोले प्रस्तुत विधेयक संघीय संसद्‌मा पेस गर्नु परेको हो ।” नेपालको संविधानको धारा ५१ को खण्ड (क) (राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षासम्बन्धी नीति) को क्र.सं. (६) मा राष्ट्रिय आवश्यकता अनुरूप नागरिकलाई राष्ट्रको सेवा गर्न तत्पर र सक्षम बनाउने नीति राज्यले अवलम्बन गर्ने उल्लेख छ । “विद्यमान राष्ट्रिय सेवा दल ऐन, २०२७ को संशोधनबाट मात्र माथि उल्लिखित व्यवस्था सम्बोधन गर्न र ऐनलाई समय सापेक्ष बनाई कार्यान्वयन गर्न सहज नहुने भएकोले सो ऐनलाई प्रतिस्थापन गरी नयाँ ऐन तर्जुमा गर्नु परेको,” विधेयकमा भनिएको छ । सेवा दलको काम विद्यार्थीलाई अनुशासित, बफादार, इमान्दार, स्वाभिमानी बनाउँदै राष्ट्रप्रेम, जनताप्रति सेवाभाव तथा राष्ट्रिय एकताको भावना जागृत गराउने र नेतृत्व क्षमताको विकास गराउने उल्लेख गरिएको छ । “विकास निर्माण कार्यमा सहयोग पुर्‍याउन सक्ने स्वयंसेवक समूह तयार गर्ने,” विधेयकमा भनिएको छ, “विशेष परिस्थितिमा स्वयंसेवकको रूपमा तोकिएबमोजिम परिचालन हुनसक्ने जनशक्ति तयार गर्ने ।” विधेयकमा सेवा दलको प्रमुख संरक्षक प्रधानमन्त्री र संरक्षक रक्षामन्त्री हुने व्यवस्था गरिएको छ ।

सेवा दलको प्रशासकीय प्रमुखको रूपमा कार्य गर्न प्रधानसेनापतिको सिफारिसमा अवकाश प्राप्त उपरथीमध्येबाट नेपाल सरकारले दुई वर्षको लागि कार्यकारी महानिर्देशक पदमा नियुक्त गर्ने विधेयकमा उल्लेख छ । “यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विशेष परिस्थिति र यद्ध वा आन्तरिक द्वन्द्वको समयमा जुनसुकै नेपाली नागरिकलाई सेवा दलको तालिम गराउन सकिने,” विधेयकमा स्पष्ट शब्दमा भनिएको छ । तालिम लिन चाहने व्यक्ति वा संस्थाले सेवा दलको कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था विधेयकमा गरिएको छ । तालिम प्राप्त गरेका विद्यार्थी तथा व्यक्तिलाई स्वयंसेवकको रूपमा राष्ट्र सेवामा खटाउन सकिने विधेयकमा उल्लेख छ । “स्वयंसेवकको रूपमा राष्ट्र सेवामा खटाउने व्यवस्था नेपाल सरकार, मन्त्रिपरिषद्ले निर्धारण गरेबमोजिम हुनेछ,” विधेयकमा भनिएको छ । नेपाल सेना मातहतको सेवा दलको संगठन र संरचना दरबन्दी रक्षा मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले स्वीकृत गरेबमोजिम हुनेछ । सेवा दलको तालिम अवधिको लागि आवश्यक पर्ने प्रशिक्षक समितिले तोकेबमोजिम नेपाली सेनाले बहालवाल सैनिकबाट खटाउनेछ । विद्यार्थीलाई जुनियर र सिनियर दुई तहमा विभाजन गरी तालिम दिइने विधेयकमा उल्लेख छ । विद्यालयका कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थी जुनियर डिभिजनमा रहनेछन् । विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी सिनियर डिभिजन तहमा रहनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *