विवादमा तानियो दुर्गेश र प्रियंकाको गीत

काठमाडौं । दुर्गेश थापा र प्रियंका कार्कीको नयाँ गीत ‘मास्टर्नी’ रिलिज भएदेखि नै विवादमा तानिएको छ । मंगलबार सार्वजनिक गीतले द्धिअर्थी शब्द फैलाएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले टिप्पणी गरिरहेका छन् । यो गीतलाई दुर्गेश आफैले लेखेका हुन् भने कम्पोज पनि उनकै हो । गीतभित्र प्रयोग गरिएका ‘डबल मिनिङ’ नेपाल समाजका लागि अपाच्य हुने भन्दै केहीले कलाको नाममा बेथिती भएको बताएका छन् । गीत सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पनि दुर्गेश र प्रियंकालाई द्धिअर्थी शब्दको प्रयोगबारे प्रश्न सोधिएको थियो । जवाफमा दुर्गेशले राम्रो दिमागले सुने राम्रै लाग्ने प्रतिक्रिया दिएका थिए । उनले भनेका थिए, ‘तपाईंको सुनाइ कस्तो छ भन्ने कुरा हो । डर्टी माइन्डले सुन्यो भने डर्टी नै सुनिन्छ । राम्रो माइन्डले सुन्यो भने राम्रो नै सुनिन्छ । तपाईंले घर गएर १० चोटी सुन्नुपर्ला ।’ दुर्गेशले गणितभन्दा आफूलाई मजा नलागेकोले म्याथ शब्दको प्रयोग गरेको समेत बताएका छन् । भन्छन्, ‘इङ्लिस वर्ड पनि सुन्नुस न तपाईंले । इङ्लिसमा भन्या हो म्याथ भनेर । कि गणित भन्नुपर्‍यो । गणित भन्दा मजा आएन के मलाई । मलाई म्याथ भन्दा मजा आयो ।’ गीतले युट्युबमा प्राप्त गरेका २६०० भन्दा धेरै कमेन्टमा डबल मिनिङ शब्दावलीप्रति आपत्ति जनाइएको छ ।

कतिपयले मास्टर्नीजस्तो मर्यादित पेशालाई लिएर यो गीत नसुहाएको भन्दै टिप्पणी गरेका छन् । संचारकर्मी तथा फिल्म निर्देशक प्रकाश सायमीले सामाजिक सञ्जालबाटै गीतलाई लिएर आपत्ति जनाएका छन् । उनी लेख्छन्, ‘अभिनेत्री प्रियंकाको गीतको शब्दलाई लिएर जुन विवाद उठाएका छन्, त्यसप्रति मेरो कुनै गुनासो छैन । प्रियङ्काका माता पिता वा सासू वा पूर्व ससूरा , वर्तमान ससूरा कसैलाई आपत्ति छैन ,उनीहरुले त्यो भद्दा कला पचाएका छन् भने उनका परिवार बाहिरकाले पनि पचाउन सक्नु पर्‍यो ।’ युट्युबबाहेक सामाजिक सञ्जालमा पनि गीतले दिने शिक्षा र नैतिकताबारे प्रयोगकर्ताले प्रश्न गरिरहेका छन् । तपाईंले युट्युबको कमेन्ट सेक्सन र गीतबारे सामाजिक संजालमा लेखिएका टिप्पणीलाई पछ्याउन सक्नुहुन्छ, जहाँ गीतलाई लिएर चर्को वहस र विवाद निम्तिएको देखिन्छ । वास्तवमा यो गीत प्रियंकाले निर्माण गरेको आगामी फिल्म ‘मास्टर्नी’को प्रवर्धन गीत हो । फिल्ममा भने यो गीत समावेश छैन । फिल्मको प्रचारका लागि दुर्गेशले उपहार भन्दै यो गीत प्रियंकालाई दिएका हुन् । उक्त फिल्मको प्रचारप्रसारमा पनि दुर्गेश हिँड्ने भएका छन् र उनले सांगीतिक प्रस्तुति पनि दिनेछन् । बहुचर्चित ‘दुश्मन हेरेको हेर्‍यै’पनि दुर्गेश र प्रियंकाको यो दोस्रो सांगीतिक सहकार्य हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *