चन्द्र ढकालको ‘फेक भिडियो’ बनाएर भ्रम फैलाइयो
काठमाडौँ । आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकालले कृत्रिम बुद्धिमत्ता(एआई) निर्मित भिडियो बनाएर भ्रम फैलाइएकोप्रति असन्तुष्टि जनाएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ढकालले झुटा र भ्रामक प्रचारप्रति सजक रहन आग्रह गरेका छन् । उनले लेखेका छन्,‘कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग गरी मेरो भिडियो अन्तर्वार्ता जस्तो देखिने सामग्री बनाई, निश्चित रकम लगानी गरेपछि साप्ताहिक रूपमा ठूलो रकम आम्दानी गर्न सकिने भन्ने झुटा र भ्रामक प्रचार फेसबुक लगायत सामाजिक सञ्जालमा फैलाइएको थाहा हुन आएको छ।’ यस्ता झुटा तथा भ्रामक सामग्री तयार गर्ने, प्रसारण गर्ने तथा सर्वसाधारणलाई ठगी गर्ने प्रयासमा संलग्न व्यक्तिहरूमाथि आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा उजुरी गरिसकिएको समेत उनले बताए।

















