‘मास्टर्नी’ टिमले टिजरअघि ल्यायो दुई पोस्टर

अभिनेत्री प्रियंका कार्कीको फिल्म ‘मास्टर्नी’का नयाँ पोस्टर सार्वजनिक गरिएका छन्। निर्माण पक्षले दुई पोस्टर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो। एउटा पोस्टरमा अभिनेत्री प्रियंका कार्की र सिम्रन खड्कालाई प्रस्तुत गरिएको छ। प्रियंकाको अँगालोमा रहेकी सिम्रनको भावुक दृश्यले आमा,छोरीबीचको सम्बन्धलाई केन्द्रमा राखिएको कथा रहेको संकेत दिन्छ। अर्को पोस्टरमा प्रियंका कार्कीसँगै प्रमोद अग्रहरी र सिम्रन खड्का देखिएका छन्। पोस्टरमा नेपाल प्रहरी अपराध घटनास्थल प्रवेश निषेध लेखिएको प्रहरी टेप, पृष्ठभूमिमा हराएका व्यक्तिहरूका सूचना देखिन्छ। साथै, समग्र दृश्य संयोजनले कथामा रहस्य र अपराधको पाटो रहेको संकेत गर्छ। निर्माण पक्षले टिजरअघि नयाँ पोस्टर दर्शकमाझ ल्याएको हो। प्रियंकाका अनुसार टिजर केही दिनमा सार्वजनिक गरिनेछ। मास्टर्नी प्रियंकाको शीर्ष अभिनय रहेको मात्रै नभएर होम प्रोडक्सनको फिल्म हो। आयंका फिल्मस्को प्रस्तुति रहेको मास्टर्नी क्राइम–थ्रिलर विधामा बनेको निर्माणपक्षले जनाएको छ।

फिल्मलाई शुभेन्दु घोषले निर्देशन गरेका हुन्। यसको कथा प्रियंकाले लेखेकी हुन् भने पटकथा शान बस्नेतले तयार पारेका छन्। संवाद लेखनमा प्रियंका कार्की र शान बस्नेतको सहकार्य छ। निर्मातामा प्रियंका कार्कीसँगै क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की छन्। कार्यकारी निर्माता सुरक्षा सिंह मल्होत्रा तथा क्रिएटिभ निर्माता सिमोस सुनुवार हुन्। फिल्ममा प्रियंका कार्की, प्रमोद र सिम्रनसँगै आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, ऋचा शर्मा, अनुपविक्रम शाही, रक्षा थापा, दिनेश काफ्लेलगायत कलाकारहरूको अभिनय छ। युवराज इन्दोरियाको छायांकन तथा राजा सिंह सिदुको सम्पादन छ। मास्टर्नीको गत साता प्रमोशनल गीत सार्वजनिक गरिएको थियो। तर चौतर्फी आलोचना भएपछि उक्त गीत हटाइएको छ। फिल्म मास्टर्नी भदौ ५ गतेदेखि प्रदर्शन तयारीमा छ। फिल्मलाई नेपालीसहित अन्य विभिन्न भाषामा एकसाथ प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *