नबिल बैंकले बन्द गर्यो एकैपटक १२ वटा शाखारहित बैंकिङ सेवा केन्द्र
काठमाडौं । नबिल बैंकले देशका विभिन्न जिल्लामा सञ्चालनमा रहेका १२ वटा शाखारहित बैंकिङ (बीएलबी) सेवा केन्द्र बन्द गरेको छ । बैंकले सुर्खेत, बझाङ, अर्घाखाँची, तेह्रथुम, धनकुटा र डोटीमा सञ्चालित १२ वटा शाखारहित बैंकिङ सेवा केन्द्र बन्द गरेको जनाएको हो । बैंकका अनुसार बन्द गरिएका सेवा केन्द्रमा सुर्खेतको बराहताल २ रानीघाट, बझाङको बित्थडचिर गाउँपालिका १, २ र ९, अर्घाखाँचीको छत्रदेव ४, तेह्रथुमको फेदाप गाउँपालिका २ ओयाकजुङ, ४ स्थित साम्दु, ५ स्थित इशिबु, धनकुटाको साँगुरीगढी २ बुद्धिमोरङ तथा डोटीको सायल गाउँपालिका २ स्थित छपाली, ६ स्थित डल्लेख र मेल्लेखमा रहेका शाखारहित बैंकिङ सेवा केन्द्र बन्द भएका हुन् । नबिल बैंकले शाखारहित बैंकिङ सेवा बन्द भइसकेकाले सम्बन्धित प्रतिनिधिमार्फत अबउप्रान्त कुनै पनि बैंकिङ कारोबार नगर्न ग्राहकलाई आग्रह गरेको छ । बैंकले बैंकिङ सेवा लिन नजिकको शाखा वा डिजिटल बैंकिङ सेवा ‘लद्यबलप’ प्रयोग गर्न अनुरोध गरेको छ । साथै, शाखारहित बैंकिङ सेवा प्रदान गर्ने प्रतिनिधिहरूलाई पनि अबउप्रान्त कुनै पनि बीएलबी कारोबार नगर्न तथा नगराउन बैंकले निर्देशन दिएको छ ।

















