अग्नि ग्रुपद्वारा नयाँ महिन्द्रा बोलेरो क्याम्पर डीसी गोल्ड पिकअप सार्वजनिक
काठमाडौं । नेपालका लागि महिन्द्रा सवारीसाधनको आधिकारिक वितरक अग्नि ग्रुपले नयाँ महिन्द्रा बोलेरो क्याम्पर डीसी गोल्ड पिकअप सार्वजनिक गरेको छ । बिहीबार महिन्द्रा गोरखाधारा शोरुममा आयोजित विशेष समारोहबीच उक्त नयाँ पिकअपको औपचारिक अनावरण गरिएको हो। अग्नि ग्रुपका अनुसार नयाँ बोलेरो क्याम्पर डीसी गोल्डले मजबुत क्षमता र दैनिक प्रयोगको आरामबीच सन्तुलन कायम गर्दै व्यावसायिक प्रयोगकर्ताको आवश्यकतालाई प्राथमिकतामा राखेको छ । व्यवसायी, उद्यमी, किसान तथा भरपर्दो सवारीसाधनमा निर्भर पेशाकर्मीलाई लक्षित गरी विकास गरिएको यस पिकअपमा आरामदायी केबिन, आकर्षक नयाँ डिजाइन तथा आधुनिक सुविधाहरू समावेश गरिएको कम्पनीले जनाएको छ। नयाँ मोडलमा अघिल्लो संस्करणको भरपर्दो शक्ति र टर्कलाई कायम राख्दै एयर कन्डिसनर (एसी), म्युजिक सिस्टम, लेदर सिट तथा आकर्षक नयाँ डिजाइन जस्ता सुविधाहरू थप गरिएको छ । कम्पनीका अनुसार यसले नेपालको विविध सडक तथा भौगोलिक अवस्थासमेत सहज रूपमा पार गर्न सक्ने क्षमता प्रदान गर्नेछ। यो पिकअप महिन्द्राको एम२ डीआई ४ सिलिन्डर, २,५२३ सीसी डिजेल इन्जिनबाट सञ्चालित छ । यसले ३,२०० आरपीएममा ५९.७ किलोवाट शक्ति तथा १,४०० देखि २,२०० आरपीएमबीच २२० न्युटन मिटर टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ । यसले कठिन व्यावसायिक प्रयोगका लागि आवश्यक उच्च तान्ने क्षमता, इन्धन दक्षता तथा भरपर्दो कार्यसम्पादन सुनिश्चित गर्ने दाबी गरिएको छ। कम्पनीका अनुसार नयाँ मोडलमा परिमार्जित बाह्य डिजाइन, अझ आरामदायी केबिन तथा चालक र यात्रुका लागि सुविधाजनक फिचरहरू समावेश गरिएको छ। यी सुधारहरूले पिकअपलाई अझ उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्ने विश्वास कम्पनीको छ।

कार्यक्रममा बोल्दै अग्नि ग्रुपका प्रतिनिधिले बोलेरो क्याम्परले दशकौँदेखि मजबुत बनावट, न्यून मर्मत खर्च तथा नेपालको भौगोलिक अवस्थाअनुसारको उत्कृष्ट कार्यसम्पादनका कारण उद्यमी, यातायात व्यवसायी, किसान तथा विभिन्न व्यवसायको विश्वास जित्दै आएको बताए । नयाँ बोलेरो क्याम्पर डीसी गोल्डले थप शक्ति, उच्च टर्क, बढी आराम, आधुनिक सुविधा तथा आकर्षक डिजाइनमार्फत ग्राहकको बदलिँदो आवश्यकतालाई सम्बोधन गर्ने उनको भनाइ थियो। अग्नि ग्रुपले नयाँ बोलेरो क्याम्पर डीसी गोल्डको सार्वजनिकसँगै नेपाली बजारमा नवीन, भरपर्दो तथा ग्राहककेन्द्रित यातायात समाधान उपलब्ध गराउने आफ्नो दीर्घकालीन प्रतिबद्धतालाई थप सुदृढ बनाएको जनाएको छ । यसले देशभरका व्यवसायलाई थप सशक्त बनाउँदै आर्थिक गतिविधिमा सकारात्मक योगदान पुर्याउने कम्पनीको विश्वास छ। कम्पनीका अनुसार नयाँ महिन्द्रा बोलेरो क्याम्पर डीसी गोल्ड पिकअप अब नेपालभर रहेका अग्नि ग्रुपका आधिकारिक महिन्द्रा डिलरमार्फत बुकिङ तथा खरिदका लागि उपलब्ध छ।

















