आजदेखि टेकुबाट ग्यास बिक्री वितरण सुरु
काठमाडौँ । काठमाडौँ उपत्यकामा ग्यासको उच्च मागलाई मध्यनजर गर्दै नेपाल आयल निगमले आजदेखि टेकुस्थित आफ्नो कार्यालयबाट ग्यास बिक्री वितरणको व्यवस्था मिलाएको छ। बिहान ११ः०० बजेदेखि बेलुकी ५ः०० बजेसम्म सम्बन्धित उद्योगमार्फत नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डरहरू वितरण भइरहेका छन्। निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको पनि स्पष्ट पारेको छ। दैनिक मागअनुसार ग्यासको आपूर्ति भइरहेको भए पनि बजारमा अभाव भएको भन्ने समाचार र उपभोक्ताको गुनासोप्रति ध्यानाकर्षण भएको जनाउँदै निगमले आपूर्ति सहज बनाउन थप कदम चालिएको जानकारी दिएको छ।

















