दुई दिन यी भूभागमा ‘धेरै भारी’ वर्षाको चेतावनी

काठमाडौं । देशका केही स्थानमा अबका दुई दिन (साउन १७–१८) ‘धेरै भारी’ वर्षाको पूर्वानुमान छ । वर्षसँगै ती क्षेत्रमा गेग्य्रान बहाव, बाढीपहिरोको जोखिम हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । “ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले विभागको पछिल्लो सूचनामा अद्यावधिक हुन अनुरोध छ,” विभागले भनेको छ । आइतबार (साउन १७) देशका केही स्थानमा ‘भारी’ र एक–दुई ठाउँमा ‘धेरै भारी’ वर्षाको पूर्वानुमान छ ।

“कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भूभाग, मधेस प्रदेशलगायत लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा साथै कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ,” विभागले भनेको छ । सोमबार (साउन १८) वाग्मती, गण्डकी र लुम्बिनीको पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । अरू केही भूभागमा भारी वर्षाको पूर्वानुमान छ । “वाग्मती, गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भूभाग, कोसी प्रदेशको हिमाली र पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ,” विभागले भनेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *