सानिगाड हाइड्रोको नाफामा ३९० प्रतिशतको छलाङ
काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले उत्साहजनक वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८२।८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो खुद नाफामा चामत्कारिक सुधार गरेको देखिन्छ । विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा सानीगाड हाइड्रोले २६ करोड ५८ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ५ करोड ४२ लाख ४४ हजार रुपैयाँ नाफाको तुलनामा ३८९.९४ प्रतिशतको वृद्धि हो । कम्पनीको आम्दानीको मुख्य स्रोत अर्थात् विद्युत बिक्रीबाट हुने आम्दानीमा पनि वृद्धि देखिएको छ । अघिल्लो वर्ष १ अर्ब ७ करोड ९ लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी यस वर्ष बढेर १ अर्ब ११ करोड ५ लाख रुपैयाँ पुगेको छ जुन करिब ३.७० प्रतिशतको वृद्धि हो ।
नाफा बढ्नुमा आम्दानीको वृद्धि मात्र नभई वित्तीय खर्चमा आएको उल्लेख्य गिरावटले पनि ठूलो भूमिका खेलेको देखिन्छ । कम्पनीको वित्तीय खर्च अघिल्लो वर्ष ५७ करोड ५१ लाख रुपैयाँ रहेकोमा यस वर्ष करिब २९.६२ प्रतिशतले घटेर ४० करोड ४७ लाख रुपैयाँमा झरेको छ । प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि वृद्धि भएको छ । अघिल्लो वर्ष जम्मा २.७२ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी यस वर्ष बढेर ९.३३ रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको चुक्ता पूँजी २ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा पनि उल्लेख्य सुधार आएको छ । अघिल्लो वर्ष ९ करोड १२ लाख रुपैयाँ मात्र रहेको जगेडा कोष २६८.६९ प्रतिशतले बढेर ३३ करोड ६४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ पनि १०४.५७ रुपैयाँबाट बढेर १११.८० रुपैयाँ कायम भएको छ । समीक्षा अवधिमा कम्पनीको कुल सम्पत्ति ८ अर्ब ४९ करोड रुपैयाँ रहेको छ भने कुल दायित्व ५ अर्ब ३० करोड रुपैयाँमा सीमित भएको छ । यस कम्पनीले गत आवमा प्रतिकित्ता १०० रुपैयाँका दरले ८५ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको हो ।
















