सामसुङ नेपालद्वारा ग्यालेक्सी जेड फोल्ड ८ सिरिज सार्वजनिक
काठमाण्डौं । सामसुङ नेपालले नयाँ पुस्ताको फोल्डेबल स्मार्टफोनअन्तर्गत ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड ८ र ग्यालेक्सी जेड फ्लिप ८ सार्वजनिक गरेको छ । कम्पनीले नयाँ सिरिजसँगै ग्यालेक्सी वाच ९ र ग्यालेक्सी वाच अल्ट्रा २ पनि सार्वजनिक गरेको हो । आठौँ पुस्तामा प्रवेश गरेको सामसुङको फोल्डेबल प्लेटफर्मले डिजाइन, टिकाउपन, पोर्टेबिलिटी र सफ्टवेयरमा गरिएको सुधारलाई समेटेको कम्पनीले जनाएको छ । ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा र ग्यालेक्सी जेड फोल्ड ८ का ठूला डिस्प्लेले ग्यालेक्सी एआईका विभिन्न सुविधा प्रयोग गर्न थप ठूलो कार्यक्षेत्र उपलब्ध गराउने कम्पनीको भनाइ छ । यसबाट प्रयोगकर्ताले पटक–पटक एप परिवर्तन नगरी सामग्रीको समीक्षा, तुलना, सिर्जना तथा आवश्यक काम गर्न सक्नेछन् । त्यस्तै, ग्यालेक्सी जेड फ्लिप ८ ले कम्प्याक्ट डिजाइनमै छिटो एआई अन्तरक्रिया तथा सिर्जनात्मक अभिव्यक्तिको सुविधा दिनेछ । नयाँ ग्यालेक्सी वाच सिरिजले कनेक्टेड स्वास्थ्य तथा वेलनेस अनुभवलाई थप विस्तार गर्ने कम्पनीले जनाएको छ । सामसुङ नेपालले नयाँ उत्पादन सार्वजनिकसँगै प्रिमियम स्मार्टफोनको स्वामित्वलाई सहज बनाउन अफोर्डेबिलिटी, एक्सेसिबिलिटी र सस्टेनेबिलिटी केन्द्रित योजना अघि सारेको जनाएको छ ।
२४ महिनासम्मको ईएमआई सुविधा
कम्पनीका अनुसार एचएफएलमार्फत ४० प्रतिशत डाउनपेमेन्टमा २४ महिनासम्मको ईएमआई सुविधा उपलब्ध हुनेछ । योग्य उच्चस्तरीय ग्राहकका लागि ईएमआई अवधि ३६ महिनासम्म विस्तार गर्दै डाउन पेमेन्ट २० प्रतिशतसम्म घटाउने लक्ष्यसमेत राखिएको छ । त्यसैगरी, ट्रेड–इन बोनस, कनेक्टिभिटी सुविधा तथा योजनामा रहेको रेमिट्यान्ससँग जोडिएको नगद फिर्तामार्फत ग्राहकलाई थप लाभ उपलब्ध गराउने सामसुङले जनाएको छ ।
डिजिटलदेखि रिटेलसम्म एउटै अनुभव
आईएमएस र हिम इलेक्ट्रोनिक्ससँगको ओम्निच्यानल सहकार्यमा डिजिटल योग्यता जाँच, सुविधा छनोट, प्रि–अर्डर, डेलिभरी तथा सामसुङ ब्रान्ड स्टोरबाट उत्पादन प्राप्त गर्ने प्रक्रियालाई एउटै अनुभवमा जोड्ने योजना रहेको कम्पनीले जनाएको छ । ग्राहकले डिजिटल केवाईसी वा रेमिट्यान्स प्रमाणीकरणदेखि खरिद र उत्पादन प्राप्तिसम्मका प्रक्रिया सहज रूपमा पूरा गर्न सक्ने कम्पनीको भनाइ छ ।
ट्रेड–इनमार्फत दिगोपनमा जोड
ट्रेड–इनका लागि योग्य उपकरणलाई एपिकोडो र स्थानीय साझेदारको सहकार्यमा परीक्षण, मूल्याङ्कन तथा प्रशोधन गरिने सामसुङले जनाएको छ । सम्भव भएका पुराना उपकरणलाई पुनःमर्मत गरी पुनःप्रयोगमा ल्याउने तथा विद्युतीय फोहोर घटाउने उद्देश्य रहेको कम्पनीको भनाइ छ । सामसुङले एचएफएल, ईसेवा, एनसेल, एपिकोडो, रेमिट्यान्स साझेदार, आईएमएस तथा हिम इलेक्ट्रोनिक्सलाई एउटै इकोसिस्टममा जोडेर फाइनान्सिङ, कनेक्टिभिटी, ट्रेड–इन, रिवार्ड तथा ओम्निच्यानल सेवालाई एकीकृत गर्ने जनाएको छ । सामसुङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङले नयाँ ग्यालेक्सी जेड सिरिजमार्फत नेपालमा प्रिमियम प्रविधि भित्र्याउनुका साथै सम्पूर्ण स्वामित्व यात्रालाई स्मार्ट बनाउने उद्देश्य रहेको बताए । उनले भने, परम्परागत स्मार्टफोनले एआईलाई एउटा झ्याल दिन्छ भने फोल्डेबलले एआईलाई एउटा कार्यस्थल दिन्छ ।ु सामसुङले नेपालमा टेलिभिजन उत्पादनका लागि हिम इलेक्ट्रोनिक्ससँग सहकार्य गर्दै आएको तथा सामसुङ इनोभेसन क्याम्पसमार्फत नेपाली युवालाई कोडिङ, प्रोग्रामिङ र एआईसम्बन्धी सीप विकासमा सहयोग गर्दै आएको जनाएको छ ।
आजदेखि प्रि–अर्डर खुला
सामसुङ नेपालले नयाँ ग्यालेक्सी जेड सिरिजका लागि १३ अगस्ट २०२६ देखि प्रि–अर्डर खुला गरेको छ । कम्पनीका अनुसार स्टक उपलब्ध रहेसम्म भीआईपी र सामान्य गरी दुई प्रकारका प्रि–अर्डर प्याकेज उपलब्ध हुनेछन् । भीआईपी प्रि–अर्डर प्याकेजअन्तर्गत ६८ हजार रुपैयाँसम्मका लाभ उपलब्ध हुने कम्पनीले जनाएको छ । यसमा एनसेलको दुई वर्षका लागि अनलिमिटेड डेटा तथा भ्वाइस प्याक, १५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस, ग्यालेक्सी वाच ९ वा वाच अल्ट्रा २ खरिदमा १० हजार रुपैयाँ छुट, गुगल एआई प्रोको ६ महिनाको निःशुल्क सुविधा र निःशुल्क फोन कभर रहेका छन् । दुई वर्षको थप वारेन्टीको सुविधा पनि उपलब्ध हुने जनाइएको छ, जसमा शुल्क लाग्नेछ । त्यस्तै, सामान्य प्रि–अर्डर प्याकेजअन्तर्गत ५८ हजार रुपैयाँसम्मको लाभ उपलब्ध हुनेछन् । यसमा दुई वर्षको एनसेल अनलिमिटेड डेटा तथा भ्वाइस प्याक, १५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस, गुगल एआई प्रोको ६ महिनाको निःशुल्क सुविधा र निःशुल्क फोन कभर समावेश छन् । थप दुई वर्षको वारेन्टीसमेत उपलब्ध हुने कम्पनीले जनाएको छ । सामसुङले नयाँ सिरिजलाई ‘नयाँ रूपलाई अनफोल्ड गर्नुहोस्’ भन्ने अवधारणासहित बजारमा ल्याएको हो ।
















