तेस्रो इन्फा अवार्डमा नीर शाह र विपिन कार्की उत्कृष्ट अभिनेता घोषित, ‘ऊनको स्वीटर’ उत्कृष्ट फिल्म
काठमाडौँ । तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड–२०२६ (इन्फा अवार्ड) मा वरिष्ठ अभिनेता नीर शाह र अभिनेता विपिन कार्की उत्कृष्ट अभिनेता घोषित भएका छन्। काठमाडौँको होटल याक एन्ड यतिमा आयोजित भव्य समारोहमा शाहलाई फिल्म ‘परान’ र कार्कीलाई ‘ऊनको स्वीटर’ बाट उत्कृष्ट अभिनेताको अवार्ड प्रदान गरिएको हो। इन्फा इभेन्ट्स नेपाल र इन्फा इभेन्ट्स यूकेको संयुक्त आयोजनामा सम्पन्न उक्त समारोहमा फिल्म ‘ऊनको स्वीटर’ को वर्चस्व रह्यो। सोही फिल्मबाट मिरुना मगर उत्कृष्ट अभिनेत्री, नवीन चौहान उत्कृष्ट निर्देशक तथा ‘ऊनको स्वीटर’ स्वयं उत्कृष्ट फिल्म घोषित भयो। यस्तै, दर्शकको लोकप्रियतातर्फ पल शाह लोकप्रिय अभिनेता र जसिता गुरुङ लोकप्रिय अभिनेत्री चुनिएका छन्। वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको उक्त कार्यक्रममा २०८२ वैशाख १ देखि चैत मसान्तसम्म प्रदर्शनमा आएका ४० भन्दा बढी फिल्म सहभागी थिए।
वरिष्ठ कलाकारहरू हरिहर शर्मा, गौरी मल्ल, रमेश बुढाथोकी र करुण थापा सम्मिलित जुरी टोलीले विभिन्न विधाका विजेता चयन गरेको हो। संगीत विधातर्फ झुमा लिम्बू, गायनमा सुजन चापागाईँ, गीतकारमा हर्क साउद, मोहक श्रेष्ठ (पाश्र्व संगीत), निमेष श्रेष्ठ (सम्पादन) र दुलीप रेग्मी (छायाँकन) उत्कृष्ट ठहरिए। त्यस्तै, रामजी लामिछाने (नृत्य निर्देशक), श्री श्रेष्ठ (द्वन्द्व निर्देशक), सृष्टि श्रेष्ठ (खलपात्र), प्रकाश दाहाल (सह अभिनेता), आँचल शर्मा (सह अभिनेत्री), सन्तोष पन्त (चरित्र अभिनेता) र लक्ष्मी गिरी (चरित्र अभिनेत्री) ले अवार्ड हात पारेका छन्। कविता नेपालीलाई ‘पर्फमर अफ द इयर’ को अवार्ड प्रदान गरियो भने सौगात मल्ल र शुदिप्ता अधिकारीले जुरी अवार्ड प्राप्त गरे। इन्फा इभेन्ट्स नेपालका अध्यक्ष सुनिल श्रेष्ठ, इन्फा इभेन्ट्स यूकेका अध्यक्ष उमेशराज मोक्तान तथा इन्फा अवार्डका बोर्ड अफ डाइरेक्टर मनिष कार्कीको सहभागिता रहेको कार्यक्रममा उषा उप्रेती, तेरिया मगर, एलिशा शर्मा, समर्पण लामा लगायतका कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए।

















