एउटा भरियाको जीवन्त कथा बोकेको नेपाली कथानक चलचित्र “कार्की साइँला”को टिजर सार्वजनिक
काठमाडौँ । अभिनेता जितु नेपालको (मुन्द्रे) मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साइँला’को टिजर सार्वजनिक गरिएको छ ।
निर्माण पक्षले सोमबार सार्वजनिक गरेको टिजरले चलचित्रको कथावस्तु, मुख्य पात्रको जीवन भोगाइ र त्यसमा जोडिएका अनेक पक्षलाई देखाइएको छ ।
संविधान दिवसको अवसर पारेर असोज २ गतेबाट प्रदर्शनमा आउने चलचित्रको सार्वजनिक गरिएको टिजरमा मुख्य पात्र ‘कार्की साइँला’को जीवन सङ्घर्ष, व्यथा र ग्रामीण परिवेशको भोगाइलाई देखाइएको छ । भारी बोकेर आफ्नो जीविका चलाउँदै आएका एक साधारण व्यक्तिको कथा टिजरले चलचित्रले बोकेको छ ।
टिजरको मुख्य आकर्षण भनेको कार्की साइँलालाई गाउँले र साथीभाइले ‘अविवाहित’ भन्दै गर्ने हेपाइ र जिस्क्याइ हो । यही सामाजिक दबाब र अपमानका बिच उसले सात दिनभित्रै विवाह गरेर देखाउने जुन अठोट लिन्छन्, त्यसैलाई चलचित्रको मूल कथाका रूपमा प्रस्तुत गरिएको छ ।
राजेन्द्र बस्नेतको निर्देशनमा तयार भएको यस चलचित्रमा गाउँमा सामान्य जीवन बिताइरहेका एक व्यक्तिले समाजको दबाब र आफ्नै चाहनाबिच कसरी बाटो खोज्छन् भन्ने विषयलाई हास्य रसमा प्रस्तुत गर्ने प्रयास गरिएको छोटकरीमा बुझ्न सकिन्छ ।
चलचित्रमा जितु नेपालका साथमा प्रियाना आचार्य (मुन्नी), सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, दिप्सन लिम्बु लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ ।
कर्ण बहादुर फिल्म्सको प्रस्तुतिमा तयार भएको चलचित्रमा बाल कुमार राई र निर्भीक बञ्जाराको लगानी रहेको छ भने अनन्त राई कार्यकारी निर्माता हुन् ।
चलचित्रमा डम्बर राईको कथा, सविन अधिकारी र शङ्कर धितालको पटकथा तथा संवाद, डम्बर राईको कथा एवम् छायाङ्कन, सन्देश शाहको सम्पादन, किरण दाहालको द्वन्द्व निर्देशन, दिप्सन लिम्बू र सङ्केत अगस्तिको सङ्गीत तथा कमल राईको नृत्य निर्देशन छ ।

















