मकवानपुर जिप दुर्घटनामा घाइते एक महिलाको उपचारको क्रममा मृत्यु
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा आज बिहान भएको जिप दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा लक्ष्मी बडु रहेको प्रहरीले जनाएको छ । उनी रजिष्ट्रार तारादत्त बडुकी श्रीमती हुन् । उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कार्पियो जिप आज मंगलबार बिहान करिब ७ बजे जुरीखेतमा अनियन्त्रित भई खोल्सामा खसेको थियो ।
दुर्घटनामा दाङको तुलसीपुर उपमहानगरपालिका ९ घर भएका उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश ५७ वर्षीय गोकर्ण डाँगी, ५७ वर्षकै रजिष्ट्रार तारादत्त बडु, उनकी श्रीमती ४९ वर्षीया लक्ष्मी, छोरा २५ वर्षीय रितेन्द्र र ३१ वर्षीया रिता घाइते भएका थिए । दाङको राप्ती नगरपालिका ८ का करिब ३२ वर्षीय जिप चालक छुनिलाल चौधरी समेत घाइते भएका छन् । मुख्य न्यायाधीश डाँगी र चालक चौधरीको मकवानपुरमै उपचार भइरहे पनि बडु परिवारका सदस्यहरुलाई सेनाको हेलिकप्टरबाट छाउनी अस्पताल ल्याइएको थियो । बिहान करिब सवा १० बजे छाउनी अस्पताल ल्याइएकोमा चिकित्सकले करिब साढे १० बजे लक्ष्मीलाई मृत घोषणा गरेका थिए ।

















