बिन्धवासिनी साकोसमा संस्थागत सुदृढीकरण कार्यक्रम सञ्चालन हुने

काभ्रे। बनेपामा रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संस्थागत सुदृढीकरणका लागि विशेष कार्यक्रम सञ्चालन हुने भएको छ । संस्थागत क्षमता अभिवृद्धि तथा वित्तीय सुदृढीकरणका लागि बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) र जर्मनीको DSIK (Deutsche Sparkassenstiftung für International Kooperation) बीच त्रिपक्षीय सम्झौता सम्पन्न भएको हो । काठमाडौंस्थित नेफ्स्कूनको सभाहलमा आयोजित कार्यक्रममा तीनै संस्थाबीच सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा बिन्धवासिनी साकोसका प्रमुख कार्यकारी अधिकृत के.बी. लामा स्याङ्तान, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा र DSIK जर्मनीकी कन्ट्री डाइरेक्टर लाउरा सियालोले हस्ताक्षर गर्नुभएको थियो । सम्झौता अनुसार बिन्धवासिनी साकोसको ऋण शाखामा कार्यरत कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि स्तरीय तालिम प्रदान गरी प्रमाणीकरण गर्ने, ऋण तथा अन्य जोखिम न्यूनीकरण गर्ने र सदस्यहरूलाई वित्तीय तथा व्यवसायिक शिक्षा प्रदान गर्ने कार्य गरिनेछ ।

त्यसैगरी कृषक तथा लघुउद्यमी सदस्यहरूको क्षमता विकासका लागि तालिम सञ्चालन गर्ने, उद्यमशीलताको विकास गर्ने, लघुवित्त कार्यक्रमलाई थप सबल बनाउने तथा जोखिम व्यवस्थापनका क्षेत्रमा नेफ्स्कून र DSIK ले प्राविधिक सहयोग गर्नेछन् । कम्तीमा १५ महिनादेखि अधिकतम तीन वर्षसम्म सञ्चालन हुने कार्यक्रमले संस्थाको वित्तीय स्वास्थ्यलाई थप सबल बनाउने अपेक्षा गरिएको छ । कार्यक्रमबाट ऋण जोखिम न्यूनीकरण हुनुका साथै कर्मचारीहरूको क्षमता विकास, सदस्यहरूको वित्तीय तथा व्यावसायिक क्षमता अभिवृद्धि र उद्यमशीलताको विकासमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ । कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भएमा सदस्यहरूको आर्थिक अवस्था सुधार हुनुका साथै समग्र संस्थागत सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । नेपालभरिबाट छनोट भएका बिन्धवासिनी साकोससहित पाँच वटा सहकारी संस्थामा यो कार्यक्रम लागू हुन लागेको जनाइएको छ । सम्झौता कार्यक्रममा बिन्धवासिनी साकोसका अध्यक्ष शान्तकुमार श्रेष्ठ, नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीलगायत पदाधिकारी तथा उच्च व्यवस्थापनका प्रतिनिधि र DSIK का नेपालस्थित प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *