बालबालिका र विद्यालय कर्मचारी सबैलाई बचाएका प्रधानाध्यापक डंगोल सम्पर्कविहीन
काठमाडौं। रसुवाको वेत्रावतीस्थित मोर्डन ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुलका सुरोज डंगोलले बाढीको खबर लगत्तै बालबालिकालाई सुरक्षित स्थानमा पठाए । विद्यालयका शिक्षक तथा कर्मचारी पनि उनको सक्रियतामा बाँच्न सफल भए । सबै निस्किएपछि विद्यालय परिसरमा विद्यालय सहायकले ताला लाउँदै गरेको खबर पाउने वित्तिकै उनलाई भगाउन पनि डंगोल नै पुगे । सबैलाई बचाएका डंगोल उक्त बाढीमा आफू भने सम्पर्कविहीन छन् । भदौ १० पछि हालसम्म उनीसँग सम्पर्क हुन सकेको छैन । उत्तरगया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम उप्रेतीका अनुसार डंगोलले बाढीको जोखिम बढेपछि विद्यालयका बालबालिकालाई गाडीमा राखेर सुरक्षित स्थानतर्फ पठाएका थिए । त्यसपछि विद्यालयका कार्यालय सहयोगीलाई समेत बचाउने क्रममा उनी आफैँ सम्पर्कविहीन भएका हुन् ।उप्रेतीले भने, “उहाँले बच्चाहरूलाई गाडीमा राखेर माथि पुर्याउनुभयो। कार्यालय सहयोगी ढोका लगाउन भनेर कुरेर बस्नुभएको रहेछ । प्रिन्सिपल सरले उहाँलाई पनि बचाउनुपर्छ भनेर त्यहाँबाट भगाउनुभएछ । कार्यालय सहयोगी सकुशल हुनुहुन्छ तर प्रिन्सिपल सुरोज डंगोल सम्पर्कमा हुनुहुन्न ।” उप्रेतीका अनुसार गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका सातजना शिक्षक तथा एकजना विद्यालयका स्टाफ नर्स पनि सम्पर्कविहीन छन् । गाउँपालिकाका पाँचजना कर्मचारीसमेत अझै सम्पर्कमा नआएको उनले जानकारी दिए।
“हाम्रा बच्चाहरू स्कुलमा लगिसकेकाले अभिभावक तल हुनुहुन्थ्यो र तलको बस्ती बग्यो । स्कुल पुग्नु भएका बच्चाहरू सुरक्षित हुनुहुन्छ। अन्य सम्पर्कमा हुनुहुन्न,” उनले भने । उनका अनुसार ४० जनाभन्दा बढी बालबालिकाका बुबाआमा सम्पर्कमा छैनन् । यस्तै, २७ जना बालबालिकाका अभिभावकमध्ये एकजना मात्र सम्पर्कमा आएका छन् । हाल सम्पर्कमा रहेका २ सय ४७ जना बालबालिकालाई पाँचवटा होल्डिङ सेन्टरमा राखिएको छ । उनीहरूको आवश्यक व्यवस्थापनका लागि स्थानीय तहले पहल गरिरहेको जनाएको छ । यसैबीच, रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर १ का बासिन्दासँग अझै सम्पर्क स्थापित हुन सकेको छैन । “वडा नम्बर १ मा हाम्रो कुनै सम्पर्क हुन सकेको छैन। त्यहाँ जनता त छन्, सम्पर्क गरेर खाद्यान्नहरू खटाइदिन पाए हुन्थ्यो तर केही गर्न सकिएको छैन,” उनले भने । त्रिशूली नदीपारि रहेको उक्त वडासँग सञ्चार सम्पर्क पूर्ण रूपमा विच्छेद हुँदा स्थानीयको अवस्था यकिन हुन नसकेको गाउँपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत उप्रेतीका अनुसार वडा १ का स्थानीयसँग सम्पर्क स्थापित हुन नसकेको स्थानीय जनप्रतिनिधिले बताएका छन्। उत्तरगया गाउँपालिकाको वडा नम्बर ४ र ५ सम्म पुग्न सके पनि वडा नम्बर २ र ३ मा हेलिकोप्टरमार्फत उद्धारबाहेक अन्य विकल्प नरहेको गाउँपालिकाले जनाएको छ ।
















