एयर इन्डिया विमान दुर्घटनामा खटिएको भारतीय फरेन्सिक टोली नै बाढीपीडितको पहिचानका लागि नेपालमा
काठमाडौँ । नेपालमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका पीडितहरूको शव पहिचानका लागि भारतबाट १९ सदस्यीय डीएनए विज्ञ टोली काठमाडौँ आइपुगेर काम सुरु गरेको छ। जैविक नमुना सङ्कलन, संरक्षण र विश्लेषण गरी शवहरूलाई आफन्तको जिम्मा लगाउने कार्यमा सहयोग पुर्याउन यो टोली खटिएको हो। ६ वटा समूहमा विभाजित भारतीय टोलीमा गान्धीनगरस्थित नेसनल फरेन्सिक साइन्सेस युनिभर्सिटी (एनएफएसयू) का १० जना र दिल्लीस्थित सेन्ट्रल फरेन्सिक साइन्स ल्याबोरेटरी (सीएफएसएल) का ९ जना विज्ञ समावेश छन्। एनएफएसयूका डिएनए फरेन्सिक सेन्टर अफ एक्सिलेन्सका प्रमुख भार्गव पटेलको नेतृत्वमा आएको टोलीले सोमबारदेखि नेपाल प्रहरीको सेन्ट्रल फरेन्सिक साइन्स ल्याबोरेटरी र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक विभागका विज्ञहरूसँग सहकार्य थालेको छ। टोलीले अधिकांश क्षतविक्षत अवस्थामा रहेका शव र आफ्ना आफन्त खोजिरहेका मानिसहरूबाट जैविक नमुना सङ्कलन गरिरहेको छ। आपत्कालीन विपद् पीडित पहिचान (डीभीआई) प्रक्रियाअन्तर्गत शव र तिनका टुक्राहरूको कागजी अभिलेख राख्ने, पहिचान नम्बर दिने, उपयुक्त जैविक नमुना सङ्कलन गर्ने र आफन्तलाई शव बुझाउन सघाउने काममा यो टोली खटिएको छ। एनएफएसयूका क्याम्पस निर्देशक डा. एसओ जुनारेका अनुसार नेपालका अधिकारीहरूलाई शव पहिचानमा सघाउनु र मृतकले सम्मानजनक अन्तिम बिदाइ पाऊन् भन्ने सुनिश्चित गर्नु यस अभियानको मुख्य उद्देश्य रहेको छ।
नेपाल आएका भारतीय विज्ञहरूले गत वर्ष अहमदाबाद विमानस्थल नजिकै भएको एयर इन्डियाको उडान १७१ दुर्घटनाका पीडितहरूको पहिचानमा समेत काम गरेका थिए। नेपाल प्रहरीका वरिष्ठ अधिकारी योगबहादुर पालका अनुसार गत २६ अगस्टको त्रासदी पछि ६ सयभन्दा बढी शवको पहिचान हुन बाँकी रहेको छ। ‘हामीले दाँत, तिघ्राको हाड, औँलाको छाप र शरीरका अन्य विशिष्ट भागबाट डीएनए नमुना सङ्कलन गरेका छौँ,’ पालले भने, ‘एफबीआईद्वारा सञ्चालित कम्बाइन्ड डीएनए इन्डेक्स सिस्टम (कोडिस) नामको सफ्टवेयर प्रयोग गरिरहेका छौँ।’ स्वास्थ्य मन्त्रालय र प्रहरी मिलेर पीडितहरूबाट सङ्कलित डीएनए प्रमाणको ठूलो डेटाबेस तयार गरिसकिएको जानकारी उनले दिए। गृह मन्त्रालयका अधिकारी अर्जुन सुवेदीले शव पहिचान प्रक्रियामा सहयोगका लागि विभिन्न दूतावासहरूसँग समन्वय भइरहेको बताए। सुवेदीका अनुसार बाढीमा परी ज्यान गुमाउनेहरू विश्वका विभिन्न देशका नागरिक रहेका छन्। उनले भने, ‘हामीले सबै दूतावासहरूलाई इमेलमार्फत मेडिकल रेकर्ड पठाउन पत्राचार गरेका छौँ। तत्कालै नेपाल आउन गाह्रो हुने आफन्तहरूले स्वदेशकै अस्पतालमा रगतको नमुना दिएर दूतावासमार्फत रेकर्ड इमेलमा पठाउन सक्नेछन् र हामी त्यसलाई यहाँको रेकर्डसँग भिडाएर हेर्नेछौँ।’















