नबिल बैंकद्धारा ५.५ प्रतिशत ब्याजदर भएको १० वर्षे डिबेञ्चर जारी गर्दै, बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । नबिल बैंकले ५.५ प्रतिशत नबिल डिबेञ्चर २०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । मंगलबार भएको सम्झौतामा नबिल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइटेलले हस्ताक्षर गरेको बैंकले जनाएको छ । बैंकले प्रतिऋणपत्र १ हजार रूपैयाँ अङ्कित मूल्य कायम गरी १० वर्ष अवधिको वार्षिक ५.५ प्रतिशत ब्याजदर रहेको ४० लाख कित्ता ऋणपत्रले हुन आउने ४ अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागिएको हो ।

जसमध्ये २४ लाख कित्ता ऋणपत्रले हुन आउने कूल २ अर्ब ४० करोड ऋणपुँजी रकम व्यक्तिगत तवरबाट बिक्री गर्ने गरिनेछ । साथै १६ लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब ६० करोड रूपैयाँ ऋणपुँजी रकम (सोमध्ये ५ प्रतिशत अर्थात ६५ हजार) ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याएको समेत सार्वजनिक निष्काशनबाट बिक्री गरिने बैंकले जनाएको छ । नबिल बैंक निजी क्षेत्रको एक अग्रणी वाणिज्य बैंक हो । बैंकले २६ लाखभन्दा बढी ग्राहकलाई देशभर रहेका २६३ शाखा सञ्जाल र ३१५ एटीएम मेसिनमार्फत सेवा प्रदान गर्दै आएको छ । चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले हालसालै ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यसाथ ‘बैंकिङ एन्डड बियोन्ड’ अवधारणालाई थप सशक्त रूपमा अगाडि बढाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *