उद्योगमन्त्री गौरी कुमारीले दिइन् राजीनामा

काठमाडौं । उद्योगमन्त्री गौरी कुमारीले राजीनामा दिएकी छन् । उद्योगीको पाता फर्काउनुपर्ने भन्ने विवादाष्पद अभिव्यक्तिपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले प्रधानमन्त्री बालेन साह समक्ष राजीनामा बुझाएकी हुन् । ग्यास आपूर्ति सहज बनाउने विषयमा छलफल भइरहेका बेला उद्योगमन्त्री गौरी यादवले व्यवसायीप्रति दिएको अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भइरहेको थियो ।

खासगरी, मन्त्रीले उद्योगीहरूलाई ‘पाता कस्ने’ तथा उद्योगको लाइसेन्स खारेज गर्नेसम्मको चेतावनी दिएपछि त्यसको विरोध जनाउँदै व्यवसायीहरूले आपत्ति जनाएका थिए । ग्यास आपूर्तिमा समस्या देखिएपछि नेपाल आयल निगमसँग उद्योगीहरू बजारमा आपूर्ति कसरी नियमित गर्ने भन्ने विषयमा छलफल गरिरहेका थिए । सोही क्रममा उद्योग समितिको बैठकमा मन्त्री यादवले व्यवसायीप्रति आक्रोशपूर्ण अभिव्यक्ति दिएकी थिइन् । व्यवसायीहरूले आपूर्ति व्यवस्थामा देखिएको समस्या समाधानका लागि सरकार र उद्योगीबीच सहकार्य र समन्वय आवश्यक रहेको अवस्थामा मन्त्रीबाटै धम्कीपूर्ण अभिव्यक्ति आउनु उचित नभएको बताउँदै सो अभिव्यक्तिले व्यवसायीलाई निरुत्साहित बनाएको बताएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *